हेटौंडा/बागमती प्रदेशस्तरीय फ्रि मिडिया नेटवर्क गठन तथा प्रदेशस्तरीय सम्वाद भएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशको आयोजना तथा नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको समन्वयमा हेटौंडामा सम्पन्न कार्यक्रमबाट नेपाल पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगरको अध्यक्षतामा प्रदेशस्तरीय नेटवर्क गठन भएको हो ।
नेटवर्कको सदस्यमा मुख्यमन्त्री कार्यालयका प्रवक्ता असिम घिसिङलामा, बागमती प्रदेशका सञ्चार रजिष्टार रेवति सापकोटा, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव हरिहर पोखरेल, उच्च अदालत बार अध्यक्ष मनप्रसाद भट्टराई, मानवअधिकार आयोग बागमती प्रदेश प्रमुख पवनप्रसाद भट्टराई, उद्योग परिसंघ बागमती प्रदेश अध्यक्ष लेखराज पोखरेल, गैसस महासंघका आरसी न्यौपाने, बागमती प्रदेश प्रहरी कार्यालयका एसपी भीमकिरण बोगटी, प्रदेश नीति तथा योजना आयोग उपसचिव अच्युत लामिछाने, गाउँपालिका महासंघ बागमती प्रतिनिधि, मानवअधिकार तथा नागरिक समाजकी प्रतिनिधि कुमारी वाइबा, प्रदेशसभा उपसचिव, पत्रकारका प्रदेशस्तरीय संस्थाका प्रमुख (प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल, नेपाल प्रेस युनियन, फोनिज र सञ्चारिका समूह), नेपाल पत्रकार महासंघ बागमती प्रदेश संस्थापक अध्यक्ष प्रताप बिष्ट छन् । समितिको सदस्यसचिवको जिम्मेवारीमा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव राधेश्याम खतिवडा छन् ।
युरोपियन युनियनको सहयोग तथा नेपाल पत्रकार महासंघ, सञ्चारिका समूह र एकाउन्टिविलिटी ल्याबको सहकार्यमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव अशोक तिवारीले सञ्चारक्षेत्रलाई जवाफदेही, मर्यादित, व्यावसायिक र सुरक्षित बनाउन, मित्थ्या सूचना न्यूनीकरण गर्न पत्रकारको सशक्तीकरणका लागि सञ्जाल निर्माण र सम्वाद सुरु गरिएको बताए । प्रदेशका सञ्चार रजिष्टार सापकोटाले पत्रकारिता नागरिकप्रति जिम्मेवार हुनुपर्ने भूमिकामा रहेको र आमसञ्चारको स्रोत व्यापारव्यवसाय हुँदा तालमेल नमिलेको, सार्वजनिक खरिद ऐन र नियामावलीको प्रावधानले स्वरोजगार मिडियाहरु समस्यामा परेको बताए । सापकोटाले सामाजिकसञ्जालले नागरिकको गुनासो पोख्ने स्पेश दिए पनि आमसञ्चारको भूमिका निर्वाह नगर्ने बताए ।
उनले मिडिया साक्षरताको विषयलाई प्राथमिकता दिनुपर्ने र बहस गर्नुपर्ने बताए । प्रशासकले पत्रकारलाई नभेट्नुपरे हुने जस्तो गरिरहेका बेला सञ्जाल निर्माणले सम्वादको सहज वातावरण निर्माण गर्ने उनले बताए । सञ्जालले मिडिया, नागरिक, सुरक्षा र प्रशासनिक निकायसँगको सहकार्यमा बहस गर्न सहज हुने सापकोटाले बताए । कार्यक्रममा आन्तरिक मामिला तथा कानुन मन्त्रालय सञ्चार महाशाखा उपसचिव हरिहर पोखरेलले नकारात्मकता बढी रहेका बेला जनतालाई सकारात्मक बनाउनका लागि मिडियाले भूमिका खेल्ने बताए । उनले सोसल मिडियाले गलत समाचार र भ्रम फैलाउने काम गरेकोतर्फ सचेत गराउँदै नागरिकलाई सही सूचना दिन सञ्जाल छलफलको फोरम बन्ने बताए ।
कार्यक्रममा सहभागी तथा नेटवर्कमा प्रतिनिधित्व गर्ने सरोकारवालाहरुले मित्थ्या सूचनालाई कम गर्न बहस र सम्वाद आवश्यक रहेको, पत्रकारको सुरक्षा र पत्रकारितालाई मर्यादित बनाउन सबैको भूमिका रहेको बताए । उनीहरुले सञ्चारसँग रहेका विषयहरुमा बहस गर्न र समस्या समाधान गर्न सहज वातावरण नेटवर्कले निर्माण गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती उपाध्यक्ष हरि हुमागार्इंले स्वागत गरेका थिए भने कार्यक्रमको विषयवस्तु र नेटवर्क निर्माणको उद्धेश्यमाथि नेपाल पत्रकार महासंघका गिरिराज अधिकारीले प्रकाश पारेका थिए ।









