चितवन/चितवन जिल्लालाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषण गर्ने सर्वसम्मत् निर्णय भएको छ । मंगलबार जिल्ला समन्वय समिति चितवन प्रमुख नारायणप्रसाद अधिकारीको सभाध्यक्षतामा बसेको बैठकले जिल्लाका ७ पालिकाका प्रतिनिधि, निजीक्षेत्र, पर्यटन व्यवसायी, पर्यटनविज्ञ तथा सरोकारवालाहरुले बागमती प्रदेश सरकारलाई पर्यटकीय राजधानी घोषणाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । पर्यापर्यटनको नेपालकै एक नम्बर गन्तव्य चितवनलाई बागमती प्रदेशको पर्यटकीय राजधानी घोषणा गर्ने विषयमा जिल्लाका सरोकारवालाले सर्वसम्मत् निर्णय गरी बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ नीति तथा कार्यक्रममा समावेश गर्न सिफारिस गर्ने निर्णय भएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले जानकारी दिइन् ।
बागमती प्रदेशका १३ जिल्लामध्ये चितवन सबभन्दा धेरै पर्यटकीय गतिविधि हुने जिल्ला हो । चितवन राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधता, दुर्लभ वन्यजन्तुको अवलोकन, अध्ययन तथा अनुसन्धानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरु यहा’ आउने गर्दछन् । नेपाल सरकारको १ सय गन्तव्यमा बीसहजारी ताल, पटिहानी र सोमेश्वर गढी सूचीकृत छन् भने बागमती प्रदेश सरकारको एक जिल्ला–एक उत्कृष्ट गन्तव्यँ मा समावेश मेघौली चितवनमै पर्छ । पर्यटनविज्ञ विश्वराज सुबेदीले पर्यटनको राजधानी लागि प्राकृतिक, साँस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यहरु, सहज पहुँच, पर्याप्त आवास सुबिधा, पर्यटक सूचनाकेन्द्र तथा आवश्यक पूर्वाधारहरु भएकाले पर्यटकीय राजधानी घोषणा गर्न योग्य रहेको जानकारी दिए । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन परिषद् अध्यक्ष प्रकाश ढुंगानाले जिल्लाको पर्यटन चितवन राष्ट्रिय निकुञ्जमा आधारित भएकाले यसको संरक्षण एवम् प्रवद्र्धनमा जोड दिनुपर्ने उल्लेख गरे ।
भरतपुर महानगरपालिकाको आयोजनामा भरतपुर भ्रमण वर्ष २०२४ जस्ता वृहते प्रवद्र्धनात्मक अभियानले समग्र क्षेत्रमा सकारात्मक आर्थिक प्रभाव परेकाले राजधानी घोषणाले जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान गराउन महत्वपूर्ण भूमिका खेल्ने जिल्ला समन्वय प्रमुख अधिकारीले जानकारी दिए । कार्यक्रममा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी, उद्योग वाणिज्य संघ चितवन कार्यबाहक अध्यक्ष अशोक अधिकारी, रत्ननगर नगरपालिका पर्यटनविज्ञ भेषराज दवाडी, क्षेत्रीय होटल संघ सौराहा अध्यक्ष ओमप्रकाश पाण्डे, रेवान सौराहाका अध्यक्ष ध्रुव गिरीले पर्यटकीय राजधानी घोषण गर्ने विषयमा दुईमत नरहेको उल्लेख गरे । पर्यटनविज्ञ सुबेदीका अनुसार चितवनको पर्यटन क्षेत्रमा ५० अर्ब बढी लगानी भइसकेको छ भने ठूला पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् । जिल्लामा १५ हजारको बेड क्षमता छ भने ६० वटा भन्दा बढी गन्तव्य छन् ।