हेटौंडा/प्रेस चौतारी नेपाल बागमती प्रदेश समितिको दोस्रो पूर्ण बैठक दोलखाको जिरीमा सम्पन्न भएको छ । प्रेस चौतारी नेपाल बागमती प्रदेश अध्यक्ष तिलकराम रिमालको सभाध्यक्षता तथा संगठन केन्द्रीय अध्यक्ष गणेश पाण्डेको प्रमुख आतिथ्यतामा बैठक भएको हो । बैठकमा संगठन महासचिव हीरामान लामा, सचिव विष्णु तारुके, प्रदेश इञ्चार्ज प्रतिमा सिलवाल, नेकपा एमाले बागमती प्रदेश उपसचिव तथा प्रचार विभाग प्रमुख भक्तकुमारी लामा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकीलगायतको सहभागिता थियो । बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, श्रमजीवी पत्रकारको पेशागत् हकहित सुरक्षा एवम् आगामी रणनीतिलगायत विषयमा ११ बुँदे जिरी घोषणापत्र जारी गरेको छ ।
बैठकले श्रमजीवी पत्रकारहरुको न्यूनतम् पारिश्रमिक, औषधी उपचार, बिदा, बिमा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टी माग गर्दै समयसापेक्ष तलब वृद्धिका लागि माग गरेको छ । बैठकले सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्नसमेत माग गरेको छ । पत्रकार र मिडियामाथिको आक्रमण बढिरहेकाले पेशागत् सुरक्षाको ग्यारेण्टी गर्न बैठकले सरकारसमक्ष माग गरेको छ । प्रेस चौतारी नेपालको अगुवाइ र पहलकदमीमा श्रमजीवी पत्रकारहरुको हित र पेशागत् रक्षाको पक्षमा निर्माण भएका कानुन, नीतिनियम, निर्णयको कार्यान्वयन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने संकल्प बैठकले गरेको छ । बैठकले प्रदेश समितिको वार्षिक कार्ययोजना कार्यान्वयन गर्दै केन्द्रको निर्देशनबमोजिम २०८२ साललाई प्रशिक्षण वर्षका रुपमा सफल बनाउन चौतारीनिकट सञ्चारकर्मीहरुका लागि वैचारिक, सांगठनिक र पेशागत् क्षमता अभिवृद्धि तालिम तथा प्रशिक्षण सञ्चालन गर्ने घोषणा गरेको छ ।
बैठकले प्रेस चौतारी नेपाल बागमती प्रदेशको आफ्नै भवन निर्माणका लागि संगठनलाई जग्गा उपलब्ध गराउन नेकपा एमाले मकवानपुर जिल्ला कमिटी, विभिन्न सरकारी तथा गैह्रसरकारी संघ संस्था तथा महानुभावलाई अनुरोध गर्ने निर्णय गरेको छ । वर्तमान सरकारले राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार, मिडिया हितको पक्षमा अग्रणी संगठनका रुपमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रण बैठकले गरेको छ । ॅसमृद्ध नेपालः सुखी नेपाली’ को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आमसञ्चार क्षेत्रबाट अधिकतम् योगदान गर्ने संकल्प बैठकले गरेको छ । बैठकले नेपाल सरकारले संसद्मा दर्ता गरेको सामाजिकसञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्न बनेको विधेयक आवश्यक, समयानुकूल र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको ठहर गर्दै पत्रकारको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानुन, नीतिनियम, निर्णय कार्यान्वयन एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिने संकल्प गरेको छ ।
बैठकले श्रमजीवी पत्रकार आफैंले सञ्चालन गरेका स्वरोजगार मिडियाको संरक्षण र प्रवद्र्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीयस्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई उपलब्ध गराउने कानुनी प्रवन्ध गर्न माग गरेको छ । अनलाइन सञ्चारमाध्यमलाई पनि लोककल्याणकारी विज्ञापनसहित सरकारी सूचना तथा विज्ञापन प्रकाशन गर्ने व्यवस्था गर्न बैठकले माग गरेको छ । बैठकले प्रदेश सरकार र स्थानीय तहको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति, कार्यक्रम तथा बजेट सञ्चारमैत्री बनाउन माग गरेको छ । जिरी नगरपालिका पर्यटकीय सम्भावना बोकेको नगरपालिका रहेकाले पर्यटकीय र धार्मिक क्षेत्रको विकास गर्न स्थानीय, प्रदेश र केन्द्र सरकारलाई आग्रह गर्दै प्रेस चौतारी नेपाल प्रदेशभित्र रहेका चौतारीकर्मीलाई पर्यटकीय गन्तव्यको प्रचारप्रसार, प्रवद्र्धनका लागि बैठकले अनुरोध गरेको छ ।