24.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘राजनीतिमा पुस्तान्तरण’ बारे युवानेता जवाफविहीन

‘राजनीतिमा पुस्तान्तरण’ बारे युवानेता जवाफविहीन

हेटौंडा/हेटौंडामा जारी तेस्रो प्रदेश युवा सम्मेलनको दोस्रो दिन नीति, नेतृत्व र युवा सहभागिता विषयक प्यानल छलफल भएको छ । पत्रकार दिलभुषण पाठकले सहजीकरण गरेको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री एवम् प्रतिनिधिसभा सदस्य जीवन परियार, सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौला, रुकुमका युवानेता पूर्णबहादुर घर्ती प्यानलिष्टका रुपमा थिए । राजनीतिमा पुस्तान्तरण, नेतृत्व र नीतिनिर्माणमा युवा सहभागितालगायत विषयमा विमर्श गरिएको थियो ।

छलफलमा सहभागी नेताहरुले युवाशक्ति अपरिहार्य भएको बताए पनि राजनीतिमा पुस्तान्तरण कहिले भन्ने प्रश्नमा स्पष्ट जवाफ दिन सकेनन् । नेपाली कांग्रेसका सहमहामन्त्री परियारले सामाजिक तथा राजनीतिक परिवर्तनमा युवाको भूमिका निर्णायक रहेको बताए । भविष्यमा युवाहरु मन्त्री, प्रधानमन्त्री, राष्ट्रपतिका रुपमा उभिनसक्ने उनले बताए । परिवर्तनका मूल संवाहक राजनीति भएकाले युवाले राजनीतिप्रति घृणा नभइ सक्रिय सहभागिता जनाउनुपर्ने उनको धारणा थियो । परियारले राजनीतिबाट देशको आर्थिक, सामाजिक परिवर्तन सम्भव भएको बताए । देशको राजनीतिलाई व्यवस्थित गर्ने जिम्मेवारी युवापुस्ताले लिनुपर्ने उनको भनाइ छ । सहमहामन्त्री परियारले राज्यको हरेक तहमा युवानेतृत्व आवश्यक छ भन्ने विषयमा प्रमुख राजनीतिक दलहरु एकमत रहेको बताए । युवापुस्तालाई आर्थिक उपार्जनको बाटोमा लैजानुपर्ने समेत उनको भनाइ छ ।

मुख्य सचेतक बर्तौलाले युवामैत्री कानुन निर्माण भएकै कारण आफूले महत्वपूर्ण जिम्मेवारी पाएको तर्क राखे । बर्तौलाले वर्तमान प्रधानमन्त्री केपी शर्माओली युवाप्रति सकारात्मक रहेको बताए । देशको स्वाभिमान रक्षा गर्न युवा एकजुट हुनुपर्नेमा उनको जोड थियो । बर्तौलाले देशको युवाशक्ति राजनीतिबाट बेखबर बन्न नहुने बताए । उनले युवाहरु देशको राजनीतिप्रति सचेत हुनुपर्ने बताए । दलका शीर्ष नेतृत्वहरु राजनीतिबाट बाहिरिँदै गर्दा देश ‘कम्पास हराएको जहाज’ जस्तो हुनसक्ने भए पनि युवाहरु राजनीतिबाट टाढा हुँदा देश ५० वर्ष पछाडि जानसक्ने उनको भनाइ छ । मुख्य सचेतक बर्तौलाले पछिल्लो समय युवापुस्ताले राजनीतिलाई घृणाको दृष्टिले हेर्ने गरेको गुनासो गरे । देशको आर्थिक, सामाजिकलगायत सबै क्षेत्रको विकासको नेतृत्व राजनीतिले गर्ने उनको धारणा छ । नेतृत्वको आलोचनामात्र नगर्न पनि उनले आग्रह गरे । मुख्य सचेतक बर्तौलाले जिम्मेवारीबोधसाथ युवापुस्ताले नेतृत्वलाई काउन्टर दिनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रका नेता घर्तीले युवाहरुले प्रश्नमात्र सोध्ने होइन, अब नैतिक धरातलमा रहेर जवाफ दिनसक्नुपर्ने बताए । नेतृत्व निर्धारण उमेरले नभइ विचार, लोकतान्त्रिक पद्धति र क्षमताले हुने उनको धारणा थियो । छलफलमा सहभागी युवाले युवानीतिको प्रभावकारी कार्यान्वयन नभएको, महिला, दलित र युवाले अपेक्षाअनुसार प्रतिनिधित्व नपाएको, युवा नेतृत्व तहमा नपुगेको, राजनीतिमा पुस्तान्तरणको खा“चो रहेको बताएका थिए । घर्तीले हाल नेपालमा लोकतान्त्रिक पद्धतिद्वारा नेतृत्व चयन हुने व्यवस्था भएकोले ओली, देउवा, प्रचण्ड बारम्बार नेतृत्वमा रहन्छन् भन्नु उचित नभएको भनाइ राखे ।

सांसद् घर्तीले शीर्ष नेतृत्वलाई लोकतान्त्रिक विधिबाटै पराजित गर्न युवा पुस्ताले उत्कृष्ट सिद्धान्त र विचार प्रतिपादन गर्नुपर्ने बताउनुभयो । समयको अधिकतम सदुपयोग गरेर आफुलाई देश र जनता प्रति समर्पित गर्न समेत उहाँले युवाहरुलाई आग्रह गर्नुभयो ।प्रदेश युवा परिषद् बागमतीको आयोजनामा जारी सम्मेलनले सिर्जनशीलता, उद्यमशीलता र युवा सहभागिता प्रवद्र्धन गर्ने उद्धेश्य राखेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here