26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा शुरु भयो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

हेटौंडामा शुरु भयो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन

हेटौंडा/मकवानपुर बहुमुखी क्याम्पसको आयोजनामा शनिबारदेखि अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन सुरु भएको छ । ‘दीगो विकासका लक्ष्यको स्थानीयकरणः युवाको क्षमता विकास’ भन्ने मूल आशयसाथ सम्मेलन भएको हो । तीन दिन चल्ने सम्मेलन उद्घाटन त्रिभुवन विश्वविद्यालय अनुदान आयोग अध्यक्ष प्राडा देवराज अधिकारीले गरे । सम्मेलनमा जापान, भारत, मलेसिया, थाइल्याण्डका अनुसन्धानकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् । कार्यक्रममा देशभरबाट ५७ वटा अनुसन्धान कार्यपत्र समूहगत्‌रुपमा प्रस्तुत हुने छ ।
स्थानीयस्तरमा दीगो विकास लक्ष्य समायोजन गर्ने, युवा विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने र स्थानीयस्तरका दीगो विकास लक्ष्यप्राप्तिमा युवाको भूमिका बढाउने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले बताए । सम्मेलनमा गुणस्तरीय शिक्षासम्बन्धि प्यानल छलफल, अनुसन्धानात्मक जर्नल प्रकाशन र साँस्कृतिक कार्यक्रमसमेत आयोजना हुनेछ । आइतबार र सोमबार दुई दिने कार्यक्रम क्याम्पसपरिसरमा हुने छ । यसअघि राष्ट्रियस्तरको शैक्षिक सम्मेलन गरिसकेको क्याम्पसले युजीसी नेपालको सहयोग तथा केन्द्र, प्रदेश र स्थानीय सरकारहरु एवम् स्वदेशी तथा विदेशी विश्वविद्यालयहरुसँगको सहकार्यमा विश्वविद्यालय बन्ने यात्रामा अगाडि बढिरहेको छ ।
सम्मेलन उद्घाटन सत्रमा जिल्ला समन्वय समिति प्रमुख ललित घलान, हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, मकवानपुर बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष अनन्त पौडेल, पूर्वअध्यक्षहरु डोरमणि पौडेल र माइकल रामचन्द्र अर्याल, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको आतिथ्यता थियो । यसअघि दुईपटक राष्ट्रिय शैक्षिक सम्मेलन सफलतापूर्वक सम्पन्न गरिसकेको क्याम्पसले यसपटक अन्तर्राष्ट्रियस्तरमा सम्मेलन शुरु गरेको हो । मकवानपुर बहुमुखी क्याम्पसद्वारा विश्वविद्यालय तहको शिक्षालाई व्यवहारिक र उपयोगी बनाउने प्रयास भइरहेको उल्लेख गर्दै क्याम्पस सञ्चालक समिति अध्यक्ष पौडेलले देशविदेशका क्याम्पस तथा विश्वविद्यालयहरुसँग सहकार्य भएको बताए ।
‘मकवानपुर बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग नेपालले प्रदान गर्ने गुणस्तर सुनिश्चितता तथा प्रत्ययन तेस्रो चरणको प्रक्रियामा रहेको नेपालकै लिडिङ सामुदायिक क्याम्पसका रुपमा स्थान बनाउन सफल भएको छ,’ उनले तेस्रो चरणको गुणस्तर सुनिश्चितता तथा प्रत्ययनका क्रममा क्याम्पसमा विकसित हुने गरी अगाडि बढिरहेको बताए । ‘यसका लागि तोकिएका आवश्यक मापदण्ड शैक्षिक पूर्वाधार, भौतिक पूर्वाधार, भूमि, आर्थिक, प्राविधिक तथा जनशक्ति आदि योजनाबद्धतवरले विकसित गर्दै लागिएको छ,’ उनले भने । विश्वस्तरीय विकास लक्ष्यलाई युवाहरुको क्षमता अभिवृद्धि गर्नु हुनेछ । कार्यक्रमका प्रमुख उद्धेश्यमा स्थानीयस्तरमा दीगो विकास लक्ष्यहरुलाई समायोजन गर्ने प्रयास हो । उक्त कार्यक्रम विश्वस्तरीय दीगो विकास लक्ष्यहरुलाई स्थानीयस्तरमा मिलान गर्ने प्रयासमा केन्द्रित हुनेछ । यसका लागि विश्वविद्यालयहरु तथा उच्च शैक्षिक संस्थाहरुलाई यस लक्ष्यहरुसँग आफ्‌ना कार्यक्रम समायोजन गर्न अनुसन्धानकर्ताहरुले प्रस्तुत गर्ने कार्यपत्रहरु आधार हुनेछन् ।
युवा विद्यार्थीको क्षमता सक्षम बनाउने कार्यक्रमले युवालाई विश्वस्तरीय दीगो विकास लक्ष्यहरुसँग सम्बन्धित कार्यक्रममा सक्रिय भागीदार गर्नसक्ने क्षमता प्रबल बनाउन केन्द्रित हुनेछ । यसका लागि सम्मेलनपछि लागु हुने क्षमता निर्माण कार्यक्रमहरु विकसित गरी अन्य संघसंस्थाहरुको समेत सहयोगमा सञ्चालन गरिनेछ । स्थानीयस्तरका दीगो विकास लक्ष्यहरुलाई प्राप्त गर्ने प्रयासमा युवा विद्यार्थीको भूमिका बढाउने कार्यक्रमले युवालाई स्थानीयस्तरका विकास लक्ष्यहरुलाई हासिल गर्ने प्रयासमा महत्वपूर्ण भूमिका खेल्ने र यसका लागि युवाहरुलाई स्थानीयस्तरमा दीगो विकास लक्ष्यहरुसँग सम्बन्धित कार्यक्रममा सक्रिय भागीदार गर्नसक्ने क्षमता प्रबल बनाउन अनुकूलित गरिने पौडेल बताउँछन् ।
कार्यक्रमका प्रमुख विषयमा विश्वविद्यालयहरु तथा उच्च शैक्षिक संस्थाहरुले विश्वस्तरीय दीगो विकास लक्ष्य हासिल गर्नसक्ने क्षमता प्रबल बनाउन सुझाव दिने तथा पाठ्यक्रमलाई दीगो विकास लक्ष्यउन्मुख बनाउँदै कार्यान्वयनमा लैजाने, स्थानीयस्तरका दीगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा उक्त कार्यक्रमले स्थानीय सरकार तथा सरोकारवालाहरुलाई प्रेरित गर्ने उनको विश्वास छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here