राजकुमार केसी
हेटौंडा/दुग्ध क्षेत्रका कृषकहरुलाई आत्मनिर्भर बनाउन बहुर्राष्ट्रिय कम्पनी अपरिहार्य भएको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले नेपाल सरकार कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई समन्वयका लागि अनुरोध गरेको छ । दुग्ध विकास संस्थान र निजी डेरी उद्योगहरुले लामो समयसम्म कृषहरुलाई दूधको रकम भुक्तानी नगरेको र मिल्कहोलिडे हुने अवस्थासमेत विश्लेषण गरी उक्त समस्या समाधानसहित कृषकलाई आत्मनिर्भर बनाउन बहुर्राष्ट्रिय कम्पनीको आवश्यकता महसुस भएको केन्द्रीय दुग्ध सहकारी संघ अध्यक्ष अम्बरबहादुर कुँवरले बताए ।
संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा जेठ २५ गतेदेखि असार ४ गतेसम्म कृषकहरुको दूधको भुक्तानीका लागि भएको आन्दोलनपश्चात् कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव, सहसचिव, राष्ट्रिय दुग्ध विकास बोर्डका निमित्त निर्देशक, दुग्ध विकास संस्थानका महाप्रवन्धकलगायत आन्दोलनरत् किसान प्रतिनिधिहरुको उपस्थितिमा भएको १० बुँदे सम्झौता कार्यन्वयन नभएकाले उक्त सम्झौता कार्यान्वयनका लागि आग्रह गरेको छ । उक्त मागहरु पूरा नभए जेठ १ गतेदेखि चरणवद्ध आन्दोलन गरिने उल्लेख छ ।
संघका अध्यक्ष कुँवर र महासचिव रामप्रसाद आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा कृषकहरुको दूधको चैतसम्मको भुक्तानी बैशाख मसान्तभित्र उपलब्ध गराउने वातावरण तय गर्न मन्त्रालयले दुग्ध विकास संस्थान र उद्योगीहरुलाई पहल गर्नुपर्ने, जिल्ला दुग्ध सहकारी संघमार्फत् जिल्लाभरमा रहेका दुग्ध उत्पादक सहकारी संस्थाहरुले उद्योगहरुबाट पाउनुपर्ने भुक्तानी विवरणसहित सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा विवरण पेश गर्नेलगायत माग छन् ।
संघले देशमा रहेका १ हजार ८ सय ७२ दुग्ध उत्पादक सहकारी संस्थाद्वारा ६ लाख परिवारको दुग्ध संकलन गर्दै औपचारिक क्षेत्रमा दैनिक करिब १२ लाख लिटर दूधबापत् दैनिक शहरको ६ करोड पँुजी गाउँ पुर्याउँदै विपन्न किसानहरुको आयआर्जनमा टेवा पुर्याउन सहजीकरण गर्दै आएको महासचिव आचार्यले जानकारी दिए । संघले वैदेशिक रोजगारमा गएर फर्केका युवा पनि हाल दुग्ध उत्पादन पेशामा संलग्न रहेको अवस्थामा दुग्ध उत्पादन पेशालाई धरासयी नबनाइ यस पेशाप्रति आकर्षित गरी देशलाई दुग्ध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन संघले सरकारसमक्ष आग्रह गरेको छ । पशुपालन क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा ९ प्रतिशत् र जीडीपीमा दुग्ध उत्पादन क्षेत्रको ६ प्रतिशत् योगदान रहेको उल्लेख गरिएको छ । नेपालमा दुग्ध उत्पादनमा ३० लाखभन्दा बढी कृषक परिवार संलग्न भएको र हजारौं रोजगारी सिर्जना भएको संघ महासचिव आचार्यले जानकारी दिए ।