26.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजिल्ला अवलोकनमा प्रदेशसभा उपसमिति

जिल्ला अवलोकनमा प्रदेशसभा उपसमिति

हेटौंडा/बागमती प्रदेशसभाअन्तर्गत् शिक्षा, स्वास्थ्य उपसमितिका सदस्यहरु बागमती प्रदेशअन्तर्गत् सिन्धुली र रामेछाप जिल्लाको अवलोकन भ्रमणमा छन् । प्रदेशको शिक्षा, स्वास्थ्य तथा कृषि समितिअन्तर्गत् बनेको शिक्षा स्वास्थ्य उपसमितिका पदाधिकारीहरु प्रदेशमा शिक्षा स्वास्थ्य तथा कृषिमा भएका काम र आगामी दिनमा केकस्ता आवश्यकता छन् भन्ने अध्ययनका लागि सिन्धुली र रामेछाप जिल्ला पुगेको हो । शिक्षा स्वास्थ्य उपसमिति अध्यक्ष एकलाल श्रेष्ठको नेतृत्वमा बैशाख १६ गते सिन्धुली जिल्लाको जनस्वास्थ्य कार्यालय, कृषि विकास कार्यालय, पशुसेवा कार्यालय, शिक्षा कार्यालयहरुको अवलोकन गर्दै जिल्लामा शिक्षा स्वास्थ्य एवम् पशु विकासमा भएका कामकारबाहीको विषयमा जानकारी लिएको हो ।
उनका अनुसार जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत् जिल्लामा सञ्चालनमा रहेका स्वास्थ्य सेवाप्रदायक संस्था एवम् अस्पतालहरुको विषयमा जानकारी लिँदै त्यहाँभएका सेवासुबिधा एवम् स्वास्थ्यमा नागरिकको पहुँच कस्तो छ, खोपको अवस्था, विभिन्न सर्ने रोग र नसर्ने रोगका विषयमा जनस्वास्थ्य कार्यालयले केकस्तो काम गरी रहेको छ र त्यहाँ के आवश्यक छ भन्ने विषयमा जानकारी लिइएको उनले बताए । जिल्लामा कृषिको अवस्था उत्पादन बढाउन के आवश्यक छ तथा त्यहाँका उत्पादनलाई बजारसम्म पुर्‍याउन केकस्ता कठिनाइ तथा पशुउपज उत्पादन र बजारको विषयमा पशु तथा कृषि कार्यालयमार्फत् जानकारी लिइएको उनले बताए ।
जिल्लामा सञ्चालित अस्पतालहरुको समेत उपसमितिले अवलोकन गर्दै त्यहाँको अवस्था, भइरहेका सेवासुबिधा तथा थप गर्नुपर्ने सेवाका विषयमा जानकारी लिइएको श्रेष्ठले जानकारी दिए । उपसमितिले जिल्लामा शिक्षाको अवस्था कस्तो छ भन्ने विषयमा समेत शिक्षा कार्यालय तथा शैक्षिक संस्थाहरुको अवलोकन गर्दै जानकारी संकलन गरेको थियो ।
शिक्षा विकास, स्वास्थ्यमा नागरिकको पहुँच कस्तो छ, कृषि र पशुपालनको बजारको अवस्था, नागरिकका दैनिक उपभोगका समान तथा कृषि उपजका विषय अध्ययन/अवलोकनका लागि आफूहरु बागमती प्रदेशका दुई जिल्लाको अध्ययन अवलोकनमा निस्किएको बागमती प्रदेशसभा सदस्य एवम् समितिका सदस्य सुरेश श्रेष्ठले जानकारी दिए । उनका अनुसार शिक्षा, स्वास्थ्य तथा कृषि समितिमा आउने विभिन्न विधेयक तथा विभिन्न छलफलका विषयबस्तु र प्रदेशमा नागरिकको आवश्यकता  विषयमा प्रदेशसभा सदस्यहरु जानकार भएमात्र नागरिकलाई आवश्यकताका विषयमा समितिमा छलफल भइ प्रदेशसभामा लैजान सकियोस् भन्ने हेतुले आफूहरु अध्ययन/अवलोकनमा निस्किएको उनले जानकारी दिए । उनका अनुसार बैशाख १७ गते रामेछाप जिल्लाको अध्ययन/अवलोकन गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here