हेटौंडा/प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्र तथा प्रदेश कमिटीमा मकवानपुरबाट प्रतिनिधित्व गर्ने चौतारीकर्मीहरुलाई बधाई तथा वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ । बिहीबार नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर इञ्चार्ज रामेश्वर रानाको प्रमुख आतिथ्यतामा बधाईपत्रसहित शुभकामना प्रदान गर्नुका साथै वार्षिक कार्ययोजना सार्वजनिक गरिएको हो । प्रेस चौतारी नेपाल मकवानपुरले संगठनको केन्द्रीय सदस्य सर्वसम्मत् चयन भएका शिवकुमार रिजाल, पुष्पराज अधिकारी र आयोग सदस्यहरु उज्ज्वल अधिकारी र आरती ढकाललाई बधाईपत्रसहित सम्मान गरेको थियो । प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटी महासचिवमा प्रकाश दाहाल, कोषाध्यक्षमा रामशरण दुलाल र सदस्यहरु विवश अधिकारी, रुपक कालीराज, रविन ढुंगाना र सुनिता बिष्टलाई बधाईपत्रसहित शुभकामना दिइएको थियो ।
कार्यक्रममा सञ्चारिका समूह बागमती प्रदेशमा सर्वसम्मत् चयन प्रेस चौतारीकर्मी नानीमाया सापकोटा र सञ्चारिका समूह मकवानपुर अध्यक्षमा सर्वसम्मत् चयन प्रेस चौतारी जिल्ला कार्यसमिति सदस्य निशा गुरुङलाई पनि बधाईपत्रसहित शुभकामना प्रदान गरिएको थियो । कार्यक्रममा प्रेस चौतारी नेपाल मकवानपुर अध्यक्ष सरिता दाहालले प्रस्तुत गरेको मकवानपुरको वार्षिक कार्ययोजनामाथि छलफलसमेत भएको थियो । अध्यक्ष दाहालको कार्ययोजनामा आगामी वार्षिक कार्ययोजनामा प्रेस चौतारी मकवानपुरको कार्यालय निर्माणका लागि जग्गा खोजी तथा भवन निर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ । पत्रकारहरुको सम्मान र पुरस्कारका लागि अक्षयकोष स्थापना गर्ने र उक्त कोषको ब्याजबाट सम्मान र पुरस्कार प्रदान गर्ने जनाइएको छ । चौतारी उपचार कोष स्थापना, उपचार कोषबाट जिल्लाका चौतारीकर्मी दुर्घटनामा पर्दा र गम्भीर बिरामी भएर उपचार गर्नु पर्दा चौतारीकर्मीलाई कोषको ब्याजबाट सहयोग गर्ने कार्ययोजना अघि सारिएको छ ।
संगठनको नेतृत्वले जिल्ला पार्टीको सहयोगमा अनलाइन पत्रिका सञ्चालन गर्नुका साथै उक्त अनलाइन आगामी चौतारीको नेतृत्वमा आउने कार्यसमितिलाई हस्तान्तरण गर्ने र कम्पनीमार्फत् विभिन्न योजनाका कार्यक्रम सहज बनाउने अध्यक्ष दाहालले प्रस्तुत गरिएको कार्ययोजनामा समेटिएको छ । यस्ता कार्यक्रमहरु गर्दा पत्रकार महासंघ सदस्यता वृद्धि गरेर महासंघमा चौतारीको बलियो उपस्थिति बनाउन र पार्टीको मिसन ८४ लाई महत्वपूर्ण योगदान सक्षम बनाउने अपेक्षा गरिएको छ । ६ महिनामा चौतारीकर्मीको लेखन समीक्षा गर्ने, चौतारी सदस्यहरुले पार्टीको प्रचारमा गरेको योगदालाई समीक्षा गरेर प्रोत्साहन र सम्मान सुरु गर्नुका साथै प्रेस चौतारीको कार्यालयलाई व्यवस्थित बनाउनका लागि कार्पेट, टेबुल–कुर्सी जस्ता फर्निचरदेखि कम्युटर, प्रिन्टर, पंखा, दराजलगायत व्यवस्थापन गर्न समन्वय र सहजीकरणका लागि अपिल गर्ने प्रेस चौतारीको वार्षिक कार्ययोजनमा समेटिएको छ । प्रेस चौतारी मकवानपुर अध्यक्ष दाहालको सभाध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले मकवानपुर सचिव सीता बिष्ट, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष हरि हुमागाईं, पत्रकार महासंघ मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीलगायतको उपस्थिति थियो ।