हेटौंडा/मदन भण्डारी फाउन्डेसन मकवानपुरको आगामी बैशाख २० गते हुने साधारणसभा एवम् अधिवेशनको तयारी तीव्र पारेको छ । चौथो जिल्ला अधिवेशन एवम् श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको फाउन्डेसन मकवानपुर अध्यक्ष रघुनाथ खुलालले जानकारी दिए । फाउन्डेसनको अधिवेशन एवम् सम्मान हस्तान्तरण कार्यक्रमका सन्दर्भमा फाउन्डेसनको बैठक बसेर विभिन्न निर्णयसमेत गरेको अध्यक्ष खुलालले बताए । बैठकले अधिवेशनका लागि फाउन्डेसन संस्थापक अध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी हेटौंडा आउने भएकाले तयारीस्वरुप विभिन्न जिम्मेवारी प्रदान गरेको छ ।
बैठकले अधिवेशनमा अध्यक्ष रघुनाथ खुलालद्वारा प्रस्तुत हुने अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष चन्द्रावती पनेरुद्वारा प्रस्तुत हुने आर्थिक प्रतिवेदन पास गरेको छ । कार्यक्रमलाई व्यवस्थितरुपमा सञ्चालन गर्न बैठकले फाउन्डेसनका पदाधिकारी एवम् सदस्यहरुलाई जिम्मेवारी प्रदान गरेको उनले बताए । बैठकमा फाउन्डेसन पूर्वकेन्द्रीय सदस्य एवम् बागमती प्रदेश प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले कार्यक्रम व्यवस्थितरुपमा सञ्चालन गर्न निर्देशन दिएका थिए ।