हेटौंडा/मकवानपुरमा रहेर सरकारी कार्यालयको नेतृत्व गरिरहेका कार्यालय प्रमुखहरुले आमा खुवाउने औंशी आमाघरमा रहेका आमाहरुसँग मनाएका छन् । जिल्ला अदालत मकवानपुरकी न्यायाधीश अवनी मैनालीभट्टराई, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, न्यायाधीश पूर्णिमा कोइराला, जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, जिल्ला अदालतका स्रेस्तेदार रोशी भण्डारी मनहरीको आमाघर पुगेका थिए । मातृशक्ति सम्मान कार्यक्रममा प्रमुख अतिथि न्यायाधीश भट्टराईले आमाहरुको संरक्षण गरेर आमाघरले समाजमा नमुना प्रस्तुत गरेको बताइन् । आमाहरुको सेवा कार्यमा लाग्नेहरुबाट समाजले पनि केही सिक्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रमकी विशिष्ट अतिथि प्रमुख जिल्ला अघिकारी श्रेष्ठले आमाघरले आमा संरक्षण गरेर सरकारलाई सहयोग गरिरहेको बताइन् । संविधानमा आवासको हक, स्वास्थ्यको हक, सम्मानपूर्वक बाँच्न पाउने हकको व्यबस्था गरिए पनि सरकारसँगको सीमित बजेटका कारण राज्यले यस्ता आवासगृह सञ्चालन गर्न नसकेको उनले बताइन् । कार्यक्रममा मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले अतिथिहरुलाई दोसल्ला ओढाइ सम्मान गरेका थिए । आमाघरसंरक्षक रेवती दिदीको सभाध्यक्षतामा भएको कार्यक्रममा संस्थाका विजय भाइले आमन्त्रित अतिथिहरुलाई ध्यान साधनासमेत गराएका थिए । (बबmब)