हेटौंडा/बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङले नवउद्यमी विकासका लागि प्रदेश सरकारले वीउ पुँजी उपलब्ध गराउने बताएकी छन् । हेटौंडा उपमहानगरपालिकाको सहयोग तथा उद्योग संघ मकवानपुरको आयोजनामा बिजनेस इन्क्युबेसन सेन्टरअन्तर्गत् सुरु भएको ५ दिने बुट क्याम्प उद्घाटन गर्दै मन्त्री तामाङले आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटमा नवउद्यमी कोष निर्माण गरिने बताइन् ।
मन्त्री तामाङले हेटौंडादेखि धरानसम्मको मदन भण्डारी राजमार्गलाई औद्योगिक करिडोरका रुपमा विकास गर्ने तयारी भएकोसमेत बताइन् । हेटौंडा औद्योगिक व्यवस्थापन कार्यालयसँगको समन्वयमा नवउद्यमीहरुलाई उद्योग स्थापनाका लागि सहजरुपमा जग्गा उपलब्ध गराइने उनले बताइन् । मन्त्री तामाङले स्नातकोत्तर अध्ययनरत् विद्यार्थीलाई अनुसन्धानका लागि एक लाख रुपियाँ सहयोग उपलब्ध गराइने र भविष्यमा स्नातक तहका विद्यार्थीहरुलाई समेत समेट्ने योजना रहेको उल्लेख गरिन् । दलित, महिला तथा अपांगता भएका व्यक्तिलाई उद्योग दर्तामा विशेष छुट दिनुका साथै संस्था दर्तालाई एकद्वार प्रणालीमा लैजाने विषयमा प्रदेश सरकार प्रतिवद्ध रहेको उनले बताइन् ।
उद्यमशीलता प्रवद्र्धन गर्ने उद्धेश्यसाथ बुट क्याम्प सुरु भएको क्याम्प संयोजक लेखराज पोखरेलले बताए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले नयाँ व्यवसाय स्थापना तथा विकासका लागि बुट क्याम्प महत्वपूर्ण हुने धारणा राखे । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा सञ्चालित क्याम्पमा नवउद्यमी तथा उद्यमशीलता भएका विद्यार्थीहरु सहभागी छन् । उद्योग संघ मकवानपुर अध्यक्ष बद्रीनाथ शर्माको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उद्योग परिसंघ अध्यक्ष, पूर्वअध्यक्ष, उद्योग वाणिज्य संघ मकवानपुर उपाध्यक्ष, मकवानपुर बहुमुखी क्याम्पसका प्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिति थियो ।