हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–२, चौकीटोलस्थित ओम बृद्धाश्रमलाई खाद्यान्न सहयोग प्राप्त भएको छ । स्वर्गीय जानुका अधिकारी पुडासैनीको सम्झनामा उनको परिवारले आश्रमलाई खाद्यान्न सहयोग गरेको हो । स्वर्गीय पुडासैनीकी छोरी लक्ष्मी पुडासैनीले आश्रम पुगेर दाल, चामल, तरकारी, नुन, तेल, चिनी, बिस्कुटलगायत सामग्री हस्तान्तरण गरेकी हुन् । मातातीर्थ औंसीको अवसर पारेर आमाको स्मृतिलाई जीवन्त राख्दै आश्रममा आश्रित आमाबुबाहरुलाई केही सुख एवम् हौसला मिलोस् भन्ने उद्धेश्यले सहयोग गरिएको उनले बताइन् ।
सानो सहयोगले पनि मानवता र माया फैलाउन ठूलो भूमिका खेल्ने उनले बताइन् । आश्रम अध्यक्ष सिद्धिलाल श्रेष्ठले सहयोगी मनहरुबाट प्राप्त हुने यस्ता सहयोग महत्वपूर्ण रहेको बताए । उनले सहयोगी दाताहरुको सहयोगबाट आश्रम सञ्चालन भइरहेको भन्दै सबैलाई सहयोगका लागि आह्वान गरे । आश्रममा हाल २३ जना बृद्धबृद्धा आश्रित छन् ।