हेटौंडा/मकवानपुरगढी गाउँपालिकामा बैशाख १५ गतेबाट भर्ना अभियान सुरु गरिने भएको छ । सामूदायिक विद्यालय व्यवस्थापन समिति महासंघ मकवानपुरगढीको विहीबार बसेको बैठकले १५ गतेबाट भर्ना अभियान सुरु गरिने निर्णय गरेको छ । महासंघका अध्यक्ष खीलाप्रसाद चौलागाईको अध्यक्षतामा बसेको बैठकले भर्ना अभियानको मिति तोक्नुका साथै संघीय राजधानी केन्द्रीत शिक्षक आन्दोलनलाई नैतिक समर्थनसमेत जनाएको छ ।
चैत्र २० गतेदेखि जारी शिक्षक आन्दोलनलाई नैतिक समर्थन त छ तर, आन्दोलन कार्य लामो समय भएकाले अभिभावक तथा विद्यार्थीको जनगुनासो बढ्न थालेपछि भर्ना अभियान र पठनपाठन १५ गतेबाटै हुने अध्यक्ष चौलागाईले बताए । गाउँपालिकाभित्र ३७ वटा विद्यालय सञ्चालनमा रहेको उनले बताए ।
१५ गतेसम्म पनि आन्दोलन निष्कर्षमा नपुगेमा स्वंयसेवक शिक्षकको व्यवस्थापनका लागि स्थानीय सरकारलाई अनुरोधसमेत गरिने भनि निर्णण गरिएको महासंघका सचिव चन्द्रबहादुर योञ्जनले बताए । बैठकले जनप्रतिनिधि, कर्म–चारी, शिक्षक लगायत राज्यबाट सेवा सुविधा पाइरहेका अभिभावकले अनिवार्यरुपमा आफ्ना बालबालिका सामूदायिक विद्यालयमा पठनपाठन गरिनुपर्ने भनी निर्णय गरिएको सचिव योञ्जनले बताए । बैठकमा समितिका सदस्यहरु सहित अन्य विभिन्न विद्यालयका अध्यक्षहरुले आआफ्ना धारणा राखेका थिए ।