हेटौंडा/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकार शान्ति सुव्यवस्था कायम गर्ने र अपराध नियन्त्रण गर्नेमा भूमिकाबिहीन भएको बताएका छन् ।
काठमाडौंमा शनिबार आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले संघ सरकारले आवश्यक कानुन नबनाइदिँदा प्रदेश सरकारको भूमिका शून्य देखिएको बताए । उनले संघीय कानुनहरु नबन्दा हाल प्रदेश सरकारले पफर्मेन्स शून्य देखिएको र नागरिकको नजरमा पनि प्रदेश सरकारको आवश्यक नरहेको भ्रम पैदा भएको उल्लेख गरे ।
प्रदेश सरकार गठन भएको ७ वर्ष भइसक्दा पनि संघीय निजामति, संघीय प्रहरी ऐन र शिक्षा ऐनलगायत विषयहरु संघीय कानुन नभएका कारणले प्रदेश सरकार बुख्याँचाजस्तो भएको उनले टिप्पणी गरे । समयसापेक्ष कानुन नहुँदा प्रदेश सरकारलाई काम गर्न धेरै कठिनाइ भइरहेको उनको भनाइ छ । जनताले प्रदेश सरकारको भूमिका देख्न संघ सरकारले जतिसक्दो छिटो कानुन बनाइदिनुपर्ने उनले बताए ।