हेटौंडा/मकवानपुरको मनहरी गाउँपालिका–४, मसिने चुवारपाखाका एक आगलागीपीडित परिवारलाई चैनपुर जेसीज मनहरीले खाद्यान्न सहयोग गरेको छ । वनबाट सल्केको डँढेलोले घरसहित खाद्यान्न, लत्ताकपडा र खानेकुरा जलेर नष्ट भएका गणेशबहादुर गोलेको परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । बुधबार विहान गोलेको परिवारलाई ३ बोरा चामलसहित तरकारी, नुन, तेल, मसला, साबुनलगायत सामग्री सहयोग गरिएको हो । कार्यक्रम संयोजक मिलन ढुंगानाको संयोजन एवम् चैनपुर जेसीज मनहरी अध्यक्ष कृष्णप्रसाद ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा मनहरी गाउँपालिका–४ अध्यक्ष प्रकाश थापाको प्रमुख आतिथ्यता थियो ।
डँढेलोका कारण घर जलेर नष्ट भएपछि छिमेकीको घरमा बस्न बाध्य भएको परिवारलाई तुरुन्त खाद्यान्न सहयोग कार्यक्रम आयोजना गरिएको अध्यक्ष ढकालले बताए । वडा अध्यक्ष थापाले आफ्नो वडाको आगलागीपीडितलाई सघाउ गरेकोमा जेसीजलाई धन्यवाद ज्ञापन गर्दै पीडितको घर बनाउन आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
वनबाट सल्केको आगोले घर जलेर नष्ट भएपछि गोलेको ५ जनाको परिवार छिमेकमा आश्रय लिएर बस्न बाध्य छ । यसअघि वडा अध्यक्ष थापाले समेत आवश्यक खाद्यान्न सहयोग गरेका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा चैनपुर जेसीज मनहरी संस्थापक अध्यक्ष गणेशदर्पण अधिकारी, स्थानीय समाजसेवी माधब गौतम, मानबहादुर थिङ, मंगलबहादुर मुक्तानलगायतको आतिथ्यता रहेको जेसीज महासचिव सुरेश गौतमले जानकारी दिए ।
पशुपति माविका अध्यक्षसमेत रहेका गौतमले आगलागीपीडित परिवारको विद्यार्थीका लागि भर्ना निःशुल्क गर्नुका साथै विद्यालय पोशाक र स्टेसनरी सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा समुद्र फार्मेसी हेटौंडा–१९ ले आगलागीपीडितसहित स्थानीयको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधिसमेत वितरण गरेको थियो ।