20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापत्रकार हत्यामा संलग्नलाई कारबाही माग

पत्रकार हत्यामा संलग्नलाई कारबाही माग

हेटौंडा/सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि आक्रमण गर्ने सबैलाई कानुनी कठघरामा ल्याउन तथा क्षति पुर्‍याइएका सञ्चारगृह र सञ्चारकर्मीलाई यथोचित क्षतिपूर्तिका साथै घाइते पत्रकारको उपचारको प्रवन्ध मिलाउन महासंघले माग गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समिति र जिल्ला शाखा मकवानपुरले पत्रकार हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेको छ । पत्रकार महासंघ बागमती प्रदेश समिति उपाध्यक्ष हरिप्रसाद हुमागार्इंले प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामातामाङ र महासंघ जिल्ला शाखा मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीले मकवानपुरकी प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई ध्यानाकर्षणपत्र बुझाउँदै कारबाही माग गरेका हुन् ।

ज्ञापनपत्र बुझ्दै प्रदेशका मुख्यमन्त्री तामाङले पत्रकार र सञ्चारगृहमाथिको आक्रमण निन्दनीय भएको र दोषीलाई कारबाहीका लागि लागिपर्ने बताए । प्रमुख जिल्ला अधिकारी श्रेष्ठले पत्रकार महासंघबाट प्राप्त ज्ञापनपत्र गृह मन्त्रालयमा पठाइने र दोषीलाई कारबाहीका लागि आफू लागिपर्ने बताइन् । चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा अराजक समूहले सञ्चारमाध्यम र सञ्चारकर्मीलाई निसाना बनाएको सरकारलाई अवगत भएकाले दोषीलाई कारबाही माग गरिएको महासंघ प्रदेश उपाध्यक्ष हुमागाईंले बताए ।

हिंसात्मक घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर भएको जनाएको छ । ज्यान गुमाएका पत्रकारको हत्याबारे प्रदेशका मुख्यमन्त्रीमार्फत् नेपाल सरकारसमक्ष गहिरो अनुसन्धान गरी हत्यामा संलग्न सबैलाई फौजदारी अभियोगमा कारबाही गर्न तथा उनको परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको हो । विगतमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन्‌का घटनामा संलग्नहरुलाई तत्काल कानुनी कारबाही गर्न र भविष्यमा सञ्चारमाध्यम र सञ्चारकर्मीको सुरक्षाको उचित प्रवन्ध मिलाउन नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले माग गरेको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here