हेटौंडा/नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघ जिल्ला–नगर उद्योग वाणिज्य संघहरुको चाहनाअनुरुप केन्द्रीय अध्यक्ष प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गरिएको बताएका छन् । उनले जिल्ला–नगर उद्योग वाणिज्य संघहरुले पठाउने बजेटसम्बन्धि सुझावहरुलाई नेपाल सरकारको आगामी बजेट निर्माणको चरणमा प्रस्ताव गरी कार्यान्वयनको पहल र रचनात्मक सुझावहरु कार्यान्वयनका लागि अघि बढाउन आफू इच्छुक रहेको बताए । उनले लगानीमैत्री वातावरण निर्माण गर्न सबैले प्रयत्न गर्नुपर्ने भनाइ राखे ।
नेपालको वर्तमान संविधानले निजी क्षेत्रलाई मुलुकको आर्थिक विकासको खम्बाकै रुपमा लिएर संविधानमा सार्वजनिक, निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकासमार्फत् राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने नीति छ । अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई महत्व दिँदै उपलब्ध स्रोतसाधनको अधिकतम् परिचालन गरी समृद्धि हासिल गर्ने मार्गनिर्देश गरिएको छ । समृद्ध नेपालको राष्ट्रिय आकांक्षा रहे पनि मुलुुकको आर्थिक वृद्धिदर सन्तोषजनक छैन ।
उनीसहित केन्द्रीय उपाध्यक्षहरु तथा कार्यकारिणी सदस्यहरु, जिल्ला–नगर उद्योग वाणिज्य संघका अध्यक्षहरुलगायत टोलीसँग शनिबार हेटौंडामा छलफल भएको हो । कार्यक्रममा मउवा संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले केन्द्रीय अध्यक्षसहित टिमलाई हेटौंडामा स्वागत गर्न पाउनु महत्वपूर्ण क्षण रहेको बताउँदै जिल्लाका उद्योगी/व्यवसायीका समस्याका विषय बताएका थिए । थाहा नगर उद्योग वाणिज्य संघ अध्यक्ष पुरुषोत्तम ढकालले उद्योग/व्यवसाय क्षेत्रमा समस्या रहेकाले प्रदेश र केन्द्रमा सक्षम नेतृत्वबाट समाधानको अपेक्षा राखेको बताउँदै राजधानीको उद्योग/व्यवसाय एक घण्टाको दुरीमा रहेको थाहा नगरमा पनि विस्तार गर्नुपर्ने विचार व्यक्त गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघ महासचिव प्रतिमा श्रेष्ठले मन्तव्य राखेकी थिइन् ।
कार्यक्रममा सहभागीहरुले सहकार्य, सहअस्तित्व र सहमतिका मान्यतामा रहेर एकका लागि सबै र सबैका लागि एक भन्ने सिद्धान्तमा आधारित भइ सामूहिक एकता, प्रयत्न, सहमति, सद्भाव, मानवता, भ्रातृत्वजस्ता मूल्यमा एउटै लय र एउटै तालमा सरकार, निजी क्षेत्र र सहकारी क्षेत्र अगाडि बढ्नु जरुरी रहेको बताए । निजी क्षेत्रले ढुक्कले काम गर्न पायो भने आर्थिक विकास, रोजगारी सिर्जना र लगानी आकर्षित हुने र समग्रमा मुलुक समृद्ध हुनसक्ने उनीहरुको कथन छ । ‘त्यसैले लगानीमैत्री वातावरण निर्माण नै अर्थतन्त्र सुधारको प्रस्थानविन्दु भएको मनन् वाञ्छनीय छ,’ उनीहरुले भने ।
राज्यले राष्ट्रिय अर्थतन्त्रको विकासका लागि अवसर र सुबिधा दिएर निजी क्षेत्रको भूमिका आत्मसात् गर्यो । तर, निजी क्षेत्रले आफ्नो मुनाफामात्र हेरी राज्यबाट सुबिधा जतिसक्यो चिथोर्ने तर सेवाग्राही उपभोक्तालाई निचोर्ने गरिरहेको आरोप लाग्दै आएको छ । उद्योगधन्दामा लगानीभन्दा व्यापारमा लगानी गरेर नाफा खोज्ने चरित्रले राष्ट्रिय उद्योग धरासयी भए, मौलिक अर्थतन्त्र थला परेको दाबी गरिएको छ । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका तर्फबाट सिन्धुली उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष अर्जुनकुमार श्रेष्ठलगायत पदाधिकारीलाई सम्मान गरिएको थियो । मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष रानाभाटको सभाध्यक्षतामा भएको कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, पदाधिकारी, सदस्य तथा महिला उद्यमीहरुको उपस्थिति थियो ।