हेटौंडा/बागमती प्रदेशमा भारतीय नागरिकको उपस्थिति ९३.७ प्रतिशत् छ । यहाँ चिनियाँ नागरिकको संख्या १ हजार ४ सय ५० (२.८ प्रतिशत्) छ । नेपालमा भारतीय नागरिकको जनसंख्या बढ्दै गएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । कार्यालयद्वारा हालै सार्वजनिक नेपाल अन्तर्राष्ट्रिय बसाइँसराइ प्रतिवेदनअनुसार पछिल्ला सात जनगणनाको तथ्यांकले भारतमा जन्म भइ नेपालमा बसोबास गरिरहेको जनसंख्या अधिक रहेको देखाएको हो । २०७८ को राष्ट्रिय जनगणनाअनुसार नेपालमा रहेका कुल विदेशी मूलका जनसंख्या ७ लाख ३४ हजार ६ सय ६३ मध्ये ७ लाख १३ हजार ९ सय ७३ जना भारतीय नागरिक छन् । लंैगिक वितरणका हिसाबले हेर्दा यीमध्ये ५ लाख ३८ हजार ४३ जना महिला र १ लाख ७५ हजार ९ सय ३० जना पुरुष छन् ।
२०१८ मा नेपालमा रहेका कुल विदेशी मूलका जनसंख्यामध्ये ९६ प्रतिशत् भारतीय नागरिक थिए । उक्त अनुपात त्यसपछिका वर्षहरुमा पनि लगभग स्थिर (९५ प्रतिशत्) रहेकोमा २०७८ सालमा कुल विदेशी मूलका जनसंख्याको ९७.२ प्रतिशत् पुगेको छ । भारतमा जन्म हुनेमध्ये यहाँ महिलाको हिस्सा दुई तिहाइभन्दा बढी भएको प्रतिवेदनले औंल्याएको छ । अन्य देशमा जन्मेका जनसंख्याको अनुपात ४ प्रतिशत् हाराहारीमा एकनास देखिएको छ तर यो २०७८ मा भने २.८ प्रतिशत्मा झरेको छ ।
जनगणनाअनुसार भारतमा जन्मेर नेपालमा बसोबास गरिरहेका कुल जनसंख्यामध्ये भारतमा जन्मिएका ७ लाख १३ हजार ९ सय ७३ जनामध्ये ८४.५५ प्रतिशत् नेपाली नागरिकता लिएर बसोबास गरिरहेका छन् भने १५.४४ प्रतिशत् भारतीय नागरिककै रुपमा छन् । विदेशमा जन्म भइ हिमाली क्षेत्रमा बसोबास गर्नेमध्ये लगभग ८० प्रतिशत् भारतीय नागरिक थिए भने त्यस क्षेत्रमा करिब १० प्रतिशत् चिनियाँ नागरिक थिए ।
विदेशी नागरिकताअनुसार नेपालका विभिन्न जिल्लामा बसोबास गर्नेहरुको वितरण हेर्दा शीर्ष १० जिल्लामा क्रमशः काठमाडौं, चितवन, रुपन्देही, कास्की, पर्सा, झापा, ललितपुर, मोरङ, बारा र सुनसरी छन् । यी सबै १० जिल्लामा भारतीय नागरिकको अनुपात सबभन्दा उच्च देखिएको छ । चिनियाँ नागरिक र अन्य देशका नागरिकको अनुपात भारतीय नागरिकको तुलनामा निकै न्यून छ । सार्क राष्ट्रहरुबाट आएका मानिसमध्ये ६०.६६ प्रतिशत् नेपाली नागरिकता लिएर बसेका छन् भने २.४२ प्रतिशत् भारतीय नागरिकता लिएर र २७.७९ प्रतिशत् अन्य सार्क राष्ट्रकै नागरिकता लिएर बसेका छन् । अन्य एसियाली देशबाट आएकामध्ये ९५.२१ प्रतिशत् नेपाली नागरिकता लिएर बसेका छन् ।
प्रतिवेदनमा तराईमा बसोबास गर्ने ७६ हजार ३ सय ९७ विदेशी मूलका जनसंख्यामध्ये ७५ हजार ८ सय २३ जना भारतीय नागरिक भएको उल्लेख गरेको छ । यो विदेशी मूलका जनसंख्याको ९९.२ प्रतिशत् हो । पहाडी क्षेत्रमा ५८ हजार ३ सय ४७ विदेशी मूलका जनसंख्यामध्ये ५४ हजार ८ सय ३९ जना (९४. प्रतिशत्) भारतीय नागरिक छन् भने हिमाली क्षेत्रमा २ हजार ४ सय ७४ विदेशी मूलका जनसंख्यामध्ये २ हजार १ सय १९ जना (८५.७ प्रतिशत्) भारतीय नागरिक छन् । हिमाली क्षेत्रमा अन्य राष्ट्रियताका मानिसको उपस्थिति हेर्दा चीनबाट आएका २ सय ७७ जना (११.२ प्रतिशत्) छन् ।
प्रदेशगत्रुपमा हेर्दा मधेश प्रदेशमा भारतीय नागरिकको उपस्थिति सबभन्दा उच्च (९९.६ प्रतिशत्) छ । मधेश प्रदेशमा २७ हजार ४ सय २१ विदेशी मूलका जनसंख्यामध्ये २७ हजार ३ सय ७ जना भारतीय नागरिक छन् । प्रतिवेदनअनुसार रुपन्देहीमा सर्वाधिक भारतीय मूलको जनसंख्या छ । यसपछि लुम्बिनी प्रदेशमा ९९.२ प्रतिशत्, कोशी प्रदेशमा ९८.८ प्रतिशत् र सुदूरपश्चिम प्रदेशमा ९९.१ प्रतिशत् भारतीय नागरिक छन् । गण्डकी प्रदेशमा ९५.३ प्रतिशत् भारतीय नागरिक र २.६ प्रतिशत् चिनियाँ नागरिक छन् । कर्णाली प्रदेशमा भने विदेशी मूलका जनसंख्याको संख्या कम (७ सय १३) छ, जसमध्ये ९६.९ प्रतिशत् भारतीय छन् ।