हेटौंडा/मासुको लागि मान्छेहरु कतिसम्म मरिहत्ते गर्छन्, कुन हदसम्म अपराध गर्न तयार हुन्छन्, कल्पना गर्न नसकिने इलामको एउटा घटनाले देखाउँछ । घटना इलामको सूर्योदय नगरपालिका–६, कन्यामको हो । त्यहाँ गोठमा बाँधिएको एउटा गोरुको फिला काटेर लगिएको छ । उक्त गोरुको एकापाटा फिलाको भाग नै छैन । हड्डीसम्म खुर्किएर मासु निकालिएको छ । करिब चार किलो मासु निकालेर लगेको स्थानीय सञ्चारकर्मी गोपाल गिरीले बताए ।
उनले फिला काटिएको गोरुको भिडियो कन्यामपोष्टमा राखेका थिए । ‘एकदम क्रुरतापूर्वक जिउँदै गोरुको फिला काटिएको छ,’ उनले भने–हेर्न पनि नसकिने यस्तो काम कसले गर्यो पत्ता लगाउन सकिएको छैन । उक्त गोरु स्थानीय राम राईले पालेका थिए । गोरुको यसअघि पनि फिला काटेर लगिएको थियो । घरेलु उपचारपछि निको हुँदै गएको थियो । लामो समयपछि गोरु बिस्तारै तंग्रिंदै थियो । तर, फेरि उसैगरि गोरुको फिलाको मासु काटेर लगेको गिरीले बताए । गोरुधनी राई विहान गोठमा जाँदा गोरु मरिसकेको थियो । यसअघि उनै राईको एक हल गोरुको फिला काटेर लगिएको थियो । त्यसमध्ये एउटा गोरु पनि मरिसकेको छ । आफ्नो गोठमा बाँधिएको गोरुको फिला काट्ने क्रम नरोकिएपछि राईले स्थानीय जनप्रतिनिधि, प्रहरीलाई बोलाएर कारबाहीका लागि अनुरोध गरेका थिए । तर, उनीहरुले यसको संकेत पाउन नसकिएको भन्दै घटनालाई सामसुम बनाएका थिए ।