31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडा‘महिलामैत्री शहर’ अध्ययन हुँदै

‘महिलामैत्री शहर’ अध्ययन हुँदै

हेटौंडा/हेटौंडा उपमहानगरपालिकालाई ‘महिलामैत्री शहर’ का रुपमा विकासका लागि अध्ययन सुरु गरिएको छ । दुई वर्षअघिबाट शहरी विकास मन्त्रालयसँगको समन्वयमा नेपालका विभिन्न नगरलाई ‘महिलामैत्री’ का रुपमा विकास गर्ने काम चलिरहे पनि हेटौंडा पनि समावेश गरी अध्ययन थालिएको हो । पहिलो चरणमा ५ नगरलाई महिलामैत्री बनाउने कार्यक्रम चलिरहेको समयमा पछिल्लो पटक हेटौंडा र धनगढीलाई समावेश गरी काम अघि बढाउन खोजिएको युएनओपीएस परियोजनाले जनाएको छ । कार्यक्रम कार्यान्वयनका लागि हेटौंडामा परियोजनाका कार्यक्रम व्यवस्थापनविज्ञ चुडामणि
जोशी र परियोजना सहयोजनाकार वर्षा श्रेष्ठको टोलीले महिलामैत्री पूर्वाधार निर्माणका लागि सम्भावित ठाउँ अध्ययन गरिरहेको छ ।

हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, महिलामैत्री शहर सम्पर्कव्यक्ति इञ्जिनियर बिनित ओझासहित परियोजना टोलीले हेटौंडा–११, राप्तिपार्क निर्माणस्थल, हेटौंडा–१० स्थित राप्ति क्षेत्र, हेटौंडा–८ स्थित नगर विकासमा रहेको खुला क्षेत्रकोे अवलोकन गरेको थियो । परियोजनाअन्तर्गत् पहिलो चरणमा खुला सार्वजनिक क्षेत्र पहिचान, प्राथमिकीकरण, वडाहरुको रेखांकन हुनेछ । परियोजनाले देशका २ सय ९३ स्थानीय तहको भ्रमण र अध्ययनपछि काम अघि बढाएको बताइएको छ । परियोजनाका विज्ञ जोशीका अनुसार हाल हेटौंडा र धनगढीसहित बिराटनगर, चन्द्रागिरि, सुनवल, लम्कीचुहा, तानसेन र तिलोत्तमा नगरपालिकामा महिला शहर निर्माणको काम भइरहेको छ ।

हेटौंडा र घनगढीमा सुरु हुने परियोजना ४ वर्षसम्म चल्नेछ । परियोजनाअनुसार सार्वजनिक ठाउँमा महिला र शारीरिक अशक्त भएकाहरुको सहज पहुँचको अवधारणालाई अघि सार्ने बताइएको छ । नयाँ थपिएका दुई उपमहानगरमा युरोपियन युनियन र फिनल्याण्ड सरकारको सहयोग रहनेछ । परियोजना कार्यान्वयनका लागि एक पालिकामा करिब साढे पा“च करोड रुपिया“ आउने बताइएको छ । हेटौंडा उपमहानगर प्रमुख लामा युरोपका विभिन्न मुलुकको अध्ययन/अवलोकन भ्रमणको समयमा महिलामैत्री शहर निर्माणका लागि उपमहानगरका तर्फबाट प्रस्ताव गरेसँगै परियोजना हेटौंडा आएको हो । परियोजना कार्यान्वयनमा आएसँगै बाहिर निस्कन नसकेको महिलालाई समाजसम्म आउने अवस्था बन्ने नगर प्रमुख लामाले विश्वास लिइन् । उनले भनिन्‌–परियोजनाले महिलाको आत्मसम्मान विकास, जिम्मेवार, भावनात्मकरुपमा थप बलियो बनाउन मद्धत पुग्नेछ । ‘महिलामैत्री सहरीकरणको अवधारणा राम्रो,’ उनले भनिन्‌–राज्य संयत्रबाट बन्ने हरेक भौतिक संरचना लैंगिकमैत्री हुनुपर्दछ । उनले पछिल्लो समय स्थानीय सरकारमार्फत् पर्यटन क्षेत्र विकासका लागि पार्क निर्माण गर्ने प्रचलन बढ्दै गए पनि त्यहाँका भौतिक संरचना लैंगिकमैत्री नदेखिएको पाइएको अनुभव सुनाइन् ।

‘पार्कमा मानिसहरु रातिसम्म पनि घुम्न खोज्छन् । महिलालाई सुरक्षाको अनुभूति हुने गरी वातावरण हुनुपर्छ । शौचालय निर्माण गर्दा पुरुष, महिला र तेस्रोलिंगी.लाई लक्षित गरी बनाउनुपर्छ । महिलाको नेतृत्व विकास, सशक्तीकरण र उद्यमशीलता क्षेत्रमा नगरपालिकाले सहकार्य गरिरहेको उनले सुनाइन् । दुई आर्थिक वर्षसम्म सञ्चालन हुने परियोजनाले विभिन्न चारवटा क्षेत्रहरु नीतिनिर्माण, जनसहभागिता, पूर्वाधार विकास र ज्ञान व्यवस्थापनको क्षेत्रमा विशेष केन्द्रित रहेर काम गर्ने योजना रहेको नगरपालिकाले जानकारी दिएको छ । परियोजना टोलीले उपमहानगरपालिकामा कार्यक्रम कार्यान्वयनबारे छलफल गरेको थियो । छलफलमा उपमहानगर प्रमुख प्रशासकीय अधिकृत भरत गौतम, विज्ञ सल्लाहकार कृष्णप्रसाद धिताल, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, इञ्जिनियर सुबोध थापा, उद्धब रिमालको उपस्थिति थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here