31.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडामहिलालाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर तालिम

महिलालाई आत्मनिर्भर बनाउन ब्युटीपार्लर तालिम

हेटौंडा/हेटौंडामा महिलालाई आत्मनिर्भर बनाउँदै स्वरोजगारको मार्गमा अघि बढाउन ३ सय ९० घण्टाको आधारभुत ब्युटीपार्लर तालिम सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत् प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् र हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा सुरु भएको तालिमले स्थानीय महिलालाई सौन्दर्य व्यवसायमा नयाँ अवसर दिने लक्ष्य राखेको छ ।

सूर्यमणि प्राविधिक शिक्षालय प्रालिको आयोजनामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाबाट १ सय ३६ जना इच्छुक महिलामध्येबाट २० जना सहभागी छनौट भएका छन् । हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले तालिम उद्घाटन गर्दै प्राकृतिक सौन्दर्य सामग्री प्रयोगद्वारा सौन्दर्य व्यवसायलाई अझ व्यावसायिक बनाउन तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरिन् । ‘महिलाहरु आफ्‌नै ठाउँमा सिप सिकेर आत्मनिर्भर बनून् भन्ने हाम्रो चाहना हो,’ प्रमुख लामाले भनिन् । प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद्का प्रमुख शान्ति लामाले महिलालाई आफ्‌नै ठाउँमा सिप सिकेर स्वरोजगार बन्ने अवसरलाई गुम्न नदिन आग्रह गरिन् । तालिमका प्रशिक्षक सुमित्रा मुडभरी र लक्ष्मी लामाले सौन्दर्य सेवा व्यवसायमा आवश्यक सिप र प्रविधिको प्रशिक्षण दिनेछन् । कार्यक्रम संयोजक मेनका श्रेष्ठले ६०/४० आर्थिक साझेदारीमा सञ्चालित तालिमले स्थानीय महिलालाई सिपमूलक उद्यमतर्फ उन्मुख गराउने बताइन् ।

सूर्यमणि प्राविधिक शिक्षालय प्रमुख श्यामकुमार अग्रवालको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा हेटौंडा उपमहानगरपालिका उद्योग शाखा प्रमुख महेन्द्र चापागार्इंसहित स्थानीय प्रतिनिधिको उपस्थिति थियो । स्वरोजगार र आत्मनिर्भरता निर्माणको मार्गमा अग्रसर भएको तालिम स्थानीय महिलाका लागि उज्यालो भविष्यको आधारशीला बन्ने अपेक्षा गरिएको छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here