हेटौंडा/स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत् मकवानपुरको निर्मल बहुमुखी क्याम्पसमा नेकपा एमालेनिकट अनेरास्ववियुले प्यानलसहित जित हासिल गरेको छ । कुल ८७ मतदाता रहेकोमा ८४ मत खसेकोमा अनेरास्ववियुका अध्यक्ष उम्मेद्वार प्रशान्त भण्डारी ५३ मतसहित विजयी भएका छन् । सचिवमा मुना भण्डारी, कोषाध्यक्षमा सबिन अर्याल विजयी बने । उनकी प्रतिस्पर्धी अखिल समाजवादीकी नवीना घलानले ३१ मत ल्याइन् ।
मनहरी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका कुमार घिसिङ निर्विरोध निर्वाचित भएका छन् । नेपाल विद्यार्थी संघका अविक दाहाल सचिवमा निर्विरोध निर्वाचित भएका छन् भने अखिल क्रान्तिकारीका पासाङ मुक्तान कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । हेटौंडा–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा पनि निर्विरोध कार्यसमिति चयन भएको छ । स्ववियु सभापतिमा अनेरास्ववियुका दिवस सिलवाल सर्वसम्मत् भएका छन् । राप्रपा विसंकी सजना घिमिरे उपसभापति भएकी छन् । सचिवमा अनेरास्ववियुका सुवास राई र अखिल क्रान्तिकारीका आशाराम गोले कोषाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् भने सहसचिवमा नेवि संघका आशीष भोलन सर्वसम्मत् निर्वाचित भएको क्याम्पस प्रमुख लक्ष्मण क“डेलले जानकारी दिए ।
पालुङ बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन हुन सकेन । विहान ८ बजेदेखि निर्वाचन गराउन निर्वाचन अधिकृतले सम्पूर्ण तयारी गरे पनि अनेरास्ववियु र नेपाल विद्यार्थी संघले निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरेपछि निर्वाचन हुन नसकेको हो । निर्वाचन गराउन विहानदेखि असहज परिस्थिति निर्माण भएको भन्दै निर्वाचन समितिले मध्याह्न राजीनामा दिएको छ । निर्वाचन संयोजक कुमार नेगी, सदस्य हरिकृष्ण कार्की, मीना महर्जनले संयुक्त राजीनामा दिएका छन् । निर्वाचन समितिले राजीनामा दिएपछि विवाद समाधान भएको थियो । तर, अखिल क्रान्तिकारी र अखिल छैठौंले पनि निर्वाचन संयोजकसहित सदस्यले राजीनामा दिएपछि तालाबन्दी गरेको छ ।
तालाबन्दी गरेपछि संयोजकसहित सदस्य पुनःबन्धक बनेका छन् । ७२ जना मतदाता रहेको क्याम्पसमा तालाबन्दीस“गै निर्वाचन अनिश्चित बनेको छ । अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष उम्मेद्वार थिए । ७ क्याम्पसमध्ये २ वटामा निर्विरोध कार्यसमिति चयन र एउटामा विवाद देखिएको छ भने ४ क्याम्पसमा निर्वाचन भएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा स्ववियु सभापतिका लागि २ जना चुनावी मैदानमा छन् । सभापतिका लागि ४ जनाले मनोनयन दर्ता गरेका भए पनि कांग्रेसनिकट विद्यार्थी संगठन नेवि संघले अनेरास्ववियुस“ग संयुक्त प्यानल बनाएर अनेरास्ववियुका उम्मेद्वारलाई समर्थन गरेका छन् ।
सभापतिका लागि अखिल क्रान्तिकारी, अनेरास्ववियु, राप्र विसं र विप्लव नेतृत्वको विद्यार्थी संगठनको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छोइसाङ लामाले उम्मेद्वारी दिएका छन् । लामा मकवानपुर बहुमुखी क्याम्पसका निवर्तमान स्ववियु सभापति हुन् । अनेरास्ववियु र नेवि संघका साझा उम्मेद्वार अनेरास्ववियुका प्रसिद्ध रेग्मी मैदानमा छन् । स्ववियु सभापतिका लागि पुष्कर घिमिरेले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । मकवानपुर क्याम्पसमा २ हजार ६ सय ९८ मतदाता छन् ।
हेटौंडा क्याम्पसमा स्ववियु सभापतिका लागि २ जनाबीच प्रतिस्पर्धा छ । ३ जनाको उम्मेदवारी परे पनि नेवि संघबाट उम्मेद्वारी दिएका युवराज बिकले अनेरास्ववियुका उम्मेद्वारलाई समर्थन गर्दै फिर्ता लिएका थिए । हेटौंडा क्याम्पसमा स्ववियु सभापतिका लागि नेवि संघ र अनेरास्ववियुको संयुक्त प्यानलबाट अनेरास्ववियुका अभि मैनाली उम्मेद्वार छन् । उनी हेटौंडा क्याम्पसका निर्वतमान स्ववियु सभापति हुन् । सभापतिमा राप्र विसं, विप्लव नेतृत्वको विद्यार्थी संगठन, अनेरास्ववियु र अखिल क्रान्तिकारीको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका दीपक वाइबाले उम्मेद्वारी दिएका छन् । हेटौंडा क्याम्पसमा ८ सय ५ मतदाता छन् ।
हेटौंडाको वनविज्ञान अध्ययन संस्थान क्याम्पसमा २ जना भिडेका छन् । ३ जनाको उम्मेद्वारी परेको उक्त क्याम्पसमा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका सुमित लामाले निर्धारित समयमा मनोनयन पत्र नबुझ्दा उनको उम्मेद्वारी स्वतः खारेज भएको थियो । वनविज्ञानमा अनेरास्ववियु र नेवि संघका साझा उम्मेद्वार अनेरास्ववियुका श्यामराज भट्ट र अखिल क्रान्तिकारी तथा अखिल छैठौंको संयुक्त प्यानलबाट अखिल क्रान्तिकारीका छत्र शाही स्ववियु सभापति भिडेका छन् । उक्त क्याम्पसमा ४ सय ३८ मतदाता छन् ।