हेटौंडा/बागमती प्रदेशका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटलाइजेसन) कार्य सुरु भएको छ । यातायात व्यवस्था कार्यालय मोटरसाइकल, गुर्जुधारामा आयोजित प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले डिजिटलाइजेसन शुरु गरेका हुन् ।
डिजिटलाइजेसनका लागि मन्त्रालयले १ सय जना तथ्यांक प्रविष्ट गर्ने कर्मचारीको व्यवस्था गरेको यातायात मन्त्री महर्जनले बताए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने र अनलाइनबाट सवारीकर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने बताए । डिजिटलाइजेसनले यातायात क्षेत्रमा काम राम्रो हुन नसकेको जनमानसमा भएको गलत भावना चिर्न सफल हुने विश्वास लिइएको बताउँदै मन्त्री महर्जनले भने–जसका लागि भीआरएसमार्फत् डिजिटलाइजेसनका लागि थुप्रै पटक कर्मचारी र डेभलपरसँग बसेर समस्या नआउने गरी कार्य गरेका
छौं ।
उनले अबको केही समयमा लिखित परीक्षा र सवारीसाधन परिचयपत्रको ट्रायलका लागि मात्र यातायात व्यवस्था कार्यालय आउनुपर्ने र अन्य कार्यका लागि अनलाइनबाट गर्न सकिने वातावरण बन्न लागेको बताए । कार्यक्रममा मन्त्री महर्जनसहित बागमती प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री केशबप्रसाद पोखरेल, प्रदेशसभा सदस्य रघुनाथ महर्जन, प्रदेश यातायात मन्त्रालय सचिव वीरेन्द्रदेव भारती, विभिन्न यातायात व्यवस्था कार्यालयका प्रमुखको उपस्थिति थियो ।