20 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजितपुरबाट हराएका चौधरीको शव खोलामा

जितपुरबाट हराएका चौधरीको शव खोलामा

हेटौंडा/जितपुरबाट माघ १७ गतेदेखि हराएका तीन वर्षीय बालक अंश चौधरी शनिबार दिउँसो मृत अवस्थामा भेटिएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–७ र वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ को बीचमा रहेको टेढारोडको कियासोती खोलामा बालकको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरीक्षक सुभद्रा लामावाइबाको नेतृत्वमा रहेको प्रहरी टोली र सरसफाइकर्मीले विहानदेखि कियासोती खोलाको पानी घटाएर फोहोर पन्छाउँदै खोजी गरेको थियो । खोजी गर्दै जाँदा बालकको शव घोप्टो परेको अवस्थामा भेटिएको हो ।

पानीमा डुबेको अवस्थामा भेटिएका बालकको शव सुन्निएको छ । उनको मृत्यु कहिले र कसरी भयो भन्ने खुल्न सकेको छैन । प्रहरी टोलीले बालकको शव परीक्षणका लागि कलैया अस्पताल पठाइएको छ । प्रहरी नायब उपरीक्षक वाइवाले शव परीक्षण रिपोर्टबाट बालकको मृत्युको कारण खुल्ने जानकारी दिइन् । बालक भेटिएको स्थान जितपुर चोकबाट करिब आधा किलोमिटर पश्चिमतर्फ पर्दछ ।

१० दिनअघि हराएका बालकलाई सीसीटिभी फुटेजमा सोही क्षेत्रको वरिपरि हिँडिरहेको अवस्थामा देखिएको थियो । धेरै दिन बितिसक्दा पनि बालकको अवस्था पत्ता लाग्न नसकेपछि प्रहरीले खोलामा डुबेको हुनसक्ने आशंकामा खोजी थालेको हो । प्रहरीले यसअघि वीरगञ्जस्थित विपद् व्यवस्थापनमा रहेका तालिमप्राप्त कुकुर ल्याएर बालकको खोजी गरेको थियो । तालिमप्राप्त कुकुर खोलानजिकको सोही सडक हुँदै पश्चिमतर्फ गएको थियो ।

रौतहटको दुर्गा भगवती गाउँपालिका–१ घर भएका रितेश चौधरी र अञ्जली चौधरीले छोरा अंशलाई करिब डेढ महिनाअघि जितपुरस्थित मामाघर पठाएका थिए । पाँच महिनाअघि छोरी जन्म दिएकी अञ्जलीले दुई बच्चालाई एकसाथ स्याहार गर्न गाह्रो भएपछि अंशलाई मामाघर पठाएकी थिइन् । मामाघरमा उनलाई हजुरआमाले रेखदेख गर्दै आएकी थिइन् । प्रांगणमा खेल्दै गरेको अवस्थामा बेपत्ता भएका अंश केही समयमा बजार क्षेत्रको सीसीटिभी क्यामेरामा एक्लै दौडिरहेको अवस्थामा देखिएका थिए । घरवरपर खोजी गरिए पनि नभेटेपछि प्रहरीलाई जानकारी गराइएको थियो । घटनाको जानकारी पाएदेखि इलाका प्रहरी कार्यालय सिमरा र जिल्ला प्रहरी कार्यालय कलैया इलाका प्रहरी कार्यालय जितपुर प्रहरी टोलीले बालकको खोजी गर्दै आएको थियोे ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here