मनिता राना
हेटौंडा/सगरमाथा, संसारको शिर अनि, शेर्पाहरुको रैथाने थलो हो । अरुको सपनामा बाँचेर आउने भन्दा गुमाउनेको नामको पान्ना लामो रहेको अवस्थामा मकवानपुरको साविक छतिवनका विक्रम कार्कीले आफ्नो जन्मक्षेत्रको नाम चुचुरोमा पुर्याएका छन् । त्यहाँ उनले नेपालको झण्डा पनि फहराए । सगरमाथा चुम्ने सम्भवतः उनी पहिलो मकवानपुरे हुन् ।
उनै कार्कीलाई मकवानपुरका विभिन्न संघसंस्थाले सम्मान तथा पुरस्कृत गरिरहेको छ । उनलाई हेटौंडाको पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा नगद १० हजारसहित सामुदायिक सम्मान प्रदान गरेको थियो । कार्कीलाई २१ मे, २०२२ विहान ११ः२५ मा सगरमाथाको चुचुरोको पुग्ने सफलता हात परेको हो । उनले ८ हजार ८ सय ४८ मिटरको उच्च अल्टिच्युडमा अक्सिजनको सहारासँगै ‘मेरो प्यारो छतिवन’ भनेर गर्वले नाम लिएका छन् । उनले भने–सबै चुनौतीका बाबजुद् सर्वोच्च समिटमा पाइला टेक्न पाउँदा संसार जितेको महसुस भएको छ । मैले मेरो देश, साथी, यात्राका अविचलित पाइला, मेरा बुबाआमा अनि परिवार सम्झिएँ ।
पेशाले पर्यटन व्यवसायी उनको यो सफलतामा उनीमात्र खुशी छैनन्, सिंगो मकवानपुरले गर्व महसुस गरेको छ । ११ अप्रिलदेखि मे १४ सम्म तयारी गरी काठमाडौंको ठमेलबाट यात्रा सुरु गरेका कार्कीसहित टोली १६ मेमा बेसक्याम्प पुगेको थियो । उनी एसएलसीलगत्तै काठमाडांै लागेका थिए । जहाँ उनले ब्याचलर इन टुरिजम एण्ड हस्पिटालिटी गरे । पढाइसँगै व्यवसायमा होमिएका विक्रमले सन् २०११ मा कलेज पढ्ने ५ साथी मिलेर ट्रेकिङ कम्पनी सुरु गरे । त्यसको नाम राखियो–एपेक्स हिमालय ट्रेक्स एण्ड एक्सपेडिसन प्रालि । यो उनका लागि जीवनको टर्निङप्वाइट थियो । उनले कम्पनीको सम्पर्कमा आएका विदेशी पर्यटकलाई घुमाउने र खुवाउनेदेखि भिसा सहजीकरण गर्न
थाले ।
यसले उनलाई व्यावसायिकरुपमा बलियो बनाउँदै लग्यो । प्रत्येक दिन उनका विदेशी साथी धेरै हुन थाले । दशैंमा समेत गाउँ आउँदा विदेशी पर्यटक ल्याएर घुमाउनैपर्ने भइसकेको थियो माउन्टेनियरिनिङ, रकक्लाइडिङ, हाइमाउन्टेन रेस्क्यु, एडभान्स क्यानोइनिङ, प्राथमिक उपचार, स्कि कोर्सलगायत तालिम लिएका उनले आफूलाई दक्ष बनाउँदै ६ हजार मिटरमाथि उचाईंका विभिन्न देशका ६ हिमालको सफल आरोहणसमेत गरिसकेका छन् । आमदब्लम अर्थात् संसारकै प्राविधिकरुपमा कठिन मानिने ६ हजार ८ सय १२ मिटर अग्लो हिमाल, चुलु फार इष्ट (६,०५९ मि), इम्जात्से (६,१६५ मि), लुभुजे (६,०९० मि), चुलुइष्ट (६,५८४ मि), मेरापिक (६,४७० मि) लगायत हिमालय उनले सफलरुपमा उनले चढिसकेका छन् । यी हिमाल उनले सगरमाथा चड्ने चाहनाले आरोहण गरेका थिए ।
उनी पहिलो प्रयासमा भने सगरमाथा चढ्न असफल भएका थिए । २०२१ मा उनले पहिलो पटक आरोहण गर्ने प्रयास गरेका थिए । काठमाडौंमा टुरिजम कलेजमा अध्ययनपछि उनले हिमालसम्बन्धि जनकारी पाएका थिए । २०१६ सालदेखि हिमालयन सेक्टरको तालिम लिएर उनले त्यही सालदेखि काम सुरु गरेका थिए ।
सगरमाथा आरोहण गर्ने क्रममा उनले गुल्मीका अति मिल्ने दौंतरी दीपक महतलाई गुमाएका थिए । आरोहणका क्रममा महतलाई मस्तिष्कमा रक्तस्राव भएपछि उनको आधा बाटोमै मृत्यु भएको थियो । कार्कीका लागि पनि उक्त यात्रा सहज थिएन । सगरमाथा चढ्दा अक्सिजन सकिएका कारण उनी ४५ मिनेटसम्म अक्सिजनबिना हिँडेका थिए । तर, क्याम्फोरबाट अक्सिजन पाएपछि कार्कीको ज्यान जोगिएको थियो । कार्की भन्छन्–कतिलाई सगरमाथा चढ्छु भन्ने थाहा नै थिएन । ट्रेकिङ गर्न गएको थिएँ । पछि सगरमाथा चढिसकेपछि सबैले बधाई दिनुभयो ।
सगरमाथा चढ्दा सबभन्दा ठूलो समस्या आर्थिक रहेको कार्कीको भनाइ छ । कोभिडको समयमा आर्थिक समस्या बढेको थियो । तर, उनले व्यवस्थापन गरेर चुनौती पार गरे । ‘सगरमाथा चढ्नका लागि तालिम अनिवार्य छ । त्यसैले हामीले राम्रो तालिम लिएर जोखिम कम गर्नुपर्छ । सामग्री जुटाउने क्रममा समस्या आउन सक्छ, त्यस्तो अवस्थामा सबै कुराको प्रवन्ध मिलाउनु आवश्यक छ,’ उनले भने ।
२०५० असार २६ गते रामबहादुर तथा इन्द्रकला कार्कीका पहिलो सन्तानका रुपमा जन्मिका उनले सुरुवाती पढाइ काठमाडौंमा गरे पनि स्कुले शिक्षा हाल बकैया गाउँपालिका वडा–४, छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयबाट प्राप्त गरेका हुन् । स्कुल पढ्दादेखि नै डाँडापाखा जान मनपराउने कार्कीले २०६१ सालमा एसएलसी पास गरेका थिए ।