हेटौंडा/सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता फागुन ३ देखि हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै बागमती गाउँपालिका खेलकुद विकास समितिले फागुन १ गतेदेखि गर्ने भनिएको प्रतियोगिता फागुन ३ गतेदेखि १२ गतेसम्म गर्न लागिएको जानकारी दिएको हो ।
‘ए’ डिभिजनका ७, मोफसलका ३ टिमको सहभागिता रहेको प्रतियोगिता बागमती गाउँपालिका–४, झुरझुरेस्थित सहिद स्मृति रंगशालामा हुने समिति अध्यक्ष रहरसिंह थिङले जानकारी दिए । यसअघिका संस्करण जनता मावि फापरबारीमा हुँदै आएको थियो । उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत् उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलका म्यान अफ दी म्याचलाई दश हजार रुपिंयाँसहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।