27.9 C
Makwānpur
Homeमकवानपुर विशेषबागमतीसबैखाले भ्रष्टाचारी ‘माछाहरु’ लाई पक्रिनुपर्ने

सबैखाले भ्रष्टाचारी ‘माछाहरु’ लाई पक्रिनुपर्ने

हेटौंडा/बागमती प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले पछिल्लो समय सानासाना भ्रष्टाचारका मुद्धामा हात हालेर संख्यात्मक विवरण पेश गर्ने तर, ठूला र संस्थागत् भ्रष्टाचारका मुद्धाहरुमा हात हाल्न हिच्किचाउने आरोप आइरहेको भन्दै ती आरोपलाई गलत साबित गर्न सानाठूला सबैखाले भ्रष्टाचारी माछाहरुलाई पक्रिनुपर्ने बताएका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख देबकोटाले अख्तियार दुरुपयोग गरी देश, जनता र सुशासनविरुद्ध नैतिकता र कानुनविपरीत जाने जोकोहीलाई सूक्ष्म अनुसन्धान र निष्पक्ष कारबाही गर्नुपर्नेमा जोड दिए । उनले मानवद्वारा हुने भ्रष्टचारविरुद्ध अख्तियारले गरेको कामकारबाहीबाट देशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै बेइमानीविरुद्ध कदम चाल्ने कुरामा खुट्टा नकमाउन पनि आग्रह गरे ।

‘सकारात्मक र महसुस गर्न सकिने परिणामजन्य कार्यका लागि हामीमा परिवर्तन जरुरी छ । हालको युवामा देखिएको मुख्य निराशा कार्यसम्पादनमा देखिएको सुस्तता हो,’ प्रमुख देबकोटाले भने–यसले परिणाममुखी सोच राख्ने सबैलाई निराश बनाउँदछ । अख्तियारी वा निर्णय गर्ने हैसियतका सम्पूर्ण व्यक्तिहरुलाई नियमितरुपमा सम्भावित भ्रष्टाचार रोक्न परामर्श कक्षाहरु सञ्चालन गरिनुपर्ने उनको भनाइ छ । देबकोटा भन्छन्‌–अब कुनै पनि निकायले अर्को पक्षलाई दोष थुपारेर ढिलासुस्ती गर्ने छुट हुनेछैन । तीव्र गतिशील विश्वको लय समाउन यहाँहरुले आफूलाई परिष्कृत गर्नुपर्नेछ ।

उनले जनताको निराशा चिर्दै भ्रष्टाचारविरुद्ध खरो उत्रिएर जनताको विश्वास जित्न सक्नुपर्ने बताउँदै राष्ट्रमा भ्रष्टाचार हुन नदिन इमान्दारिता, पारदर्शिता र सुशासनका विषयवस्तु विद्यालय र कलेजका पाठ्यक्रमा बृहत्‌रुपमा समावेश गर्नुपर्ने बताए ।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले प्रदेशका विभिन्न जिल्लाहरुमा बढ्दै गएको भ्रष्टाचारजन्य अपराध अनुसन्धानको घेरामा राखी न्यूनीकरण गर्नेतर्फ प्रदेश सरकार लागिपरेको बताए । उनले प्रदेशमा सुशासन कायम राख्न मानवअधिकार प्रत्याभूति गर्न र जनतालाई सरकार हाम्रै हो भन्ने विश्वास दिलाउन प्रदेश सरकारले विभिन्न ऐनकानुन निर्माण गरिरहेको बताए ।

उनले ती क्षेत्रहरुमा गरिबीलाई न्यूनीकरण गर्दै जनताको आर्थिकस्तर माथि उठाउन चालु आर्थिक वर्षको बजेटमा विभिन्न प्याकेज कार्यक्रम ल्याइ कार्यान्वयन गर्नेतर्फ प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । मन्त्री लामिछानेले देश विकासको आधार भ्रष्टाचाररहित सरकार भएको बताए । लामिछानेले भ्रष्टाचारको अंक दिन प्रतिदिन बढिरहेकाले यसको अन्त्य गर्ने जिम्मेवारी अख्तियारको मात्र नभइ सम्पूर्ण नागरिक समाज, निजी क्षेत्रको समेत भएको बताए । मन्त्री लामिछानेले प्रदेश सरकार न्यायप्रणाली सुदृढीकरण र प्रशासनिक क्षेत्रमा सुधारका लागि अघि बढिरहेको दाबी गरे । नीतिनिर्माण, बजेट व्यवस्थापन, सार्वजनिक खरिद प्रक्रियामा पारदर्शिता र निष्पक्षता कायम गर्न सरकार कटिबद्ध रहेको उनले बताए ।

बागमती प्रदेश सरकारका प्रमुख सचिव महादेव पन्थले देशमा जिम्मेवारी पदमा रहेका पदाधिकारी वा मन्त्रालय र विभागहरुले भ्रष्टाचारजन्य कार्र्य प्रोत्साहन नगरी कानुनको दायरामा अनुसन्धान गरी अघि बढाउनुपर्ने बताए । सचिव पन्थले सुशासन कायम गरी संवैधानिक दायराअनुसार आआफ्‌नो अधिकार क्षेत्रभित्र रहेर जनताको हितका लागि कानुनसम्मत्‌ढंगबाट अघि बढेमात्र भ्रष्टाचारको स्तर घट्नसक्ने बताए । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बागमती प्रमुख उमाकान्त आचार्यले पछिल्लो समय तीव्र भ्रष्टाचार बढेको जनगुनासो आइरहेको बताउँदै कार्यालयले आफ्‌नो जिम्मेवारीबोध गरी त्यसतर्फ अनुसन्धान गरिरहेको बताए । उनले प्रदेशका विभिन्न जिल्लामा स्थानीय निकायका विभिन्न वडा, स्वास्थ्य, शिक्षा क्षेत्रमा सार्वजनिक खरिदसँग सम्बन्धित कार्यमा बढेका भ्रष्टाचार न्यूनीकरण गर्न सबै क्षेत्रबाट सहयोग प्राप्त गर्न आग्रह गरे ।

मुलुकको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग २०४७ माघ २८ गते पहिलो पटक गठन भएको हो । सुशासन प्रवद्र्धनसम्बन्धि विविध कार्यक्रमसाथ आयोगले आफ्‌नो स्थापना दिवस मनाएको छ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भइ कार्य गर्ने अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक, प्रवद्र्धनात्मक र संस्थागत् क्षमता विकासका रणनीतिलाई अंगीकार गर्दै आफ्‌नो भूमिका निर्वाह गरिरहेको छ । कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियार दुरुपयोग गरे कानुनबमोजिम अनुसन्धान गर्न वा गराउनसक्ने अधिकार अख्तियारलाई छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here