हेटौंडा/‘जनयुद्ध दिवस’ को अवसरमा खुला दौड (म्याराथन) प्रतियोगिता हुने भएको छ । आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पूर्वजनमुक्ति सेना नेपाल मकवानपुर अध्यक्ष सुमन पाख्रिनले ३० औं जनयुद्ध दिवसको अवसरमा ५ किलोमिटर खुला दौड प्रतियोगिता गर्न लागिएको बताए ।
१ गते विहान ७ बजे हेटौंडा बुद्धचोकदेखि भैरवरोड, चिसापानी लक्ष्मी विद्यालय, सूर्यचोक, व्रह्मदिक विद्यालय, नवोदय विद्यालय, थाहाचोक, शितलमहल चोक, ओम भवन हुँदै बुद्धचोक पुगेर दौड सकिने पाख्रिनले बताए । प्रतियोगितामा सहभागीले माघ ३० गतेसम्म निःशुल्क नाम दर्ता गराउनुपर्ने बताउँदै सहभागीलाई एक थान टीसर्ट उपलब्ध गराइने उनले बताए । प्रतियोगितामा प्रथम हुनेलाई १५ हजार, मेडल र प्रमाणपत्र, द्वितीयलाई १० हजार, मेडल र प्रमाणपत्र तथा तृतीयलाई ५ हजार, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष पाख्रिनले बताए । कार्यक्रममा सात जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने जनाइएको छ ।
दौड प्रतियोगिता पूर्वजनमुक्ति सेना नेपाल मकवानपुर, वाईसीएल नेपाल मकवानपुर, अखिल क्रान्तिकारी मकवानपुर र अखिल नेपाल खेलकुद महासंघ मकवानपुरले संयुक्तरुपमा आयोजना गर्न लागेका हुन् । दौडका लागि नाम दर्ता गर्न गर्दोइमा रहेको माओबादी केन्द्र पार्टी कार्यालयमा सम्पर्क गर्नुपर्ने जनाइएको छ । पत्रकार सम्मेलनमा नेकपा माओबादी केन्द्र बागमती प्रदेश सचिवालय सदस्य जीवन गोले, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख माधब कोइरालालगायतको उपस्थिति थियो ।