हेटौंडा/नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनाले पार्टी र कार्यकर्ता विचारबाट चल्नुपर्नेमा जोड दिएकी छन् । नेपाली कांग्रेस हेटौंडा उपमहानगर समितिले हेटौंडा–१६ स्थित चिसापानीमा आइतबार आयोजना गरेको एक दिने नगरस्तरीय कार्यकर्ता प्रशिक्षण उद्घाटन गर्दै उनले कांग्रेसबाट मात्र समृद्धि सम्भव भएको बताइन् । उनले पार्टीलाई चलायमान र गतिशील बनाउन पार्टीका पदाधिकारीहरु उत्तरदायी र जिम्मेवार बन्नुपर्ने भन्दै पार्टी र कार्यकर्ताहरुलाई नागरिकको विकास र जनजीविकासँग जोड्दै अगाडि बढ्नुपर्ने बताइन् ।
‘आफूमाथि भएको अन्यायविरुद्ध सार्वजनिकरुपमा भन्दा पार्टीको आन्तरिक फोरममा आवाज उठाउनुपर्छ,’ उनले भनिन्–कुनै नेता र व्यक्तिलाई भन्दा कांग्रेस बलियो बनाउनेतर्फ हामी लाग्नुपर्छ । उनले विधान भन्दा बाहिर गएर पार्टी चलाउनु भनेको स्वार्थले चलाउनु हो भन्दै लोकतन्त्र र देशको विकासका लागि स्थापना भएको कांग्रेसको विचार नमर्ने बताइन् ।
कांग्रेस केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख मीन बिश्वकर्माले समसामयिक राजनीतिबारे कार्यकर्ताहरुलाई प्रशिक्षण दिँदै पार्टीका कार्यकर्ता र नेताले आफूलाई भन्दा पार्टीलाई केन्द्रमा राखेर संगठन निर्माण गर्नुपर्ने बताए । पार्टीको संगठन, कार्यकर्ता र नेताको आचरण, विचार र सिद्धान्तलगायतबारे प्रशिक्षण दिएका बिश्वकर्माले कार्यकर्ताहरुलाई निराशा छाडेर कांग्रेसको नेतृत्वमा समृद्धि सम्भव छ भन्ने भावनासाथ काम गर्न आग्रह गरे ।
कांग्रेस हेटौंडा उपमहानगर समिति उपसभापति एवम् प्रशिक्षण विभाग प्रमुख रामकृष्ण कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर उपसभापति आनन्द कठायत, कांग्रेस नेता आनन्दराम पराजुली, प्रतिनिधिसभा क्षेत्र–१ का संघीय सभापति दामोदर खनाल र कांग्रेस हेटौंडा उपमहानगर समिति सभापति उत्सव इटेनीले कांग्रेस कार्यकर्ताले पार्टी संगठनमा निर्वाह गर्नुपर्ने भूमिकाबारे बोलेका थिए ।
प्रशिक्षणमा कांग्रेसको हेटौंडा उपमहानगर समितिका पदाधिकारी तथा सदस्य, १९ वटै वटाका सभापति तथा पदाधिकारी, भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्य, क्रियाशील सदस्यलगायतको सहभागिता थियो ।