हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१७, ठूलोगंगटेमा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको छ । अंगारेश्वर धार्मिक तथा पर्यटन स्थलमा माघ ३० गतेदेखि फागुन ७ गतेसम्म महायज्ञ हुन लागेको मूल आयोजक समितिले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।
अंगारेश्वर धार्मिक तथा पर्यटन स्थल, अंगारेश्वर खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, अंगारेश्वर टोलविकास संस्था र अंगारेश्वर दुग्ध उत्पादक सहकारी संस्थाको संयुक्त आयोजनामा महायज्ञ हुन लागेको मूल आयोजक समिति संयोजक कृष्णदेव भण्डारीले जानकारी दिए ।
माघ ३० गते विहान ७ बजे अंगारेश्वर मन्दिरपरिसरमा कलशयात्रा गरिने तथा र दिउँसो १ बजे महायज्ञ उद्घाटन हुने उनले बताए । नियमित सत्संग, आध्यात्मिक प्रवचन आरम्भ गरी सनातन धर्म, सँस्कार र सँस्कृति जगेर्ना गर्ने उद्धेश्यले महायज्ञ गर्न लागिएको मूल भण्डारीले बताए । महायज्ञमा पण्डित बद्रीविशाल शास्त्री र पण्डित दिनेश काफ्ले शास्त्रीले कथावाचन गर्नेछन् ।
महायज्ञबाट संकलन भएको रकमबाट मन्दिरपरिसरमा १० फिट अग्लो आधारस्तम्भमा १० फिट अग्लो महादेवको ध्यानावस्थाको मूर्ति स्थापना गर्ने, मन्दिरपरिसरमा भएको सभाहललाई स्तरोन्नति गर्ने, मन्दिरको जग्गामा घेराबार निर्माणको लक्ष्य रहेको आयोजकले जनाएको छ ।
महायज्ञ सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको छ । सहसंयोजक तथा प्रसाद व्यवस्थापनमा मीनप्रसाद दाहाल, अर्थ समितिमा धर्मराज अर्याल, प्रचार समितिमा चुडामणि रुपाखेती, पूजा समितिमा केशब भुजेल, अतिथि सत्कार तथा सम्मान समितिमा माया राना, सरसफाइ समितिमा ओमप्रसाद अधिकारी र सामान खरिद समितिमा शमशेर पुडासैनी संयोजक तोकिएको छ । महायज्ञमा करिब २ हजार भक्तजनको उपस्थिति रहने जनाइएको छ ।