हेटौंडा/हेटौंडा–१४ लाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएको छ । वडा कार्यालयले बुधबार पत्रकार सम्मेलनमार्फत् ५१ वटा सूचक पूरा गरेसँगै माघ २५ गते वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने तयारी गरेको जानकारी दिएको हो ।
यस कार्यका लागि वडा अध्यक्ष दीपक खड्काको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको र समितिले घोषणाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरेको अध्यक्ष खड्काले जानकारी दिए । कार्यक्रम हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा वडास्थित भृकुटी माविमा कार्यक्रम गर्न लागिएको अध्यक्ष खड्काले बताए ।
उनका अनुसार वडामा क्रियाशील बालमैत्री स्थानीय शासन वडा समिति तथा बालअधिकार समितिले २० वटा टोलविकास संस्थामा २२ वटा बालसमूह, १ वटा बालसञ्जालमार्फत् विभिन्न संरचनागत् समितिहरुमा समेत गरी ५ सय ७० जना बालबालिकाको प्रत्यक्ष सहभागितामा वर्षभर विभिन्न कार्यक्रम गरी घोषणाका लागि आवश्यक वातावरण निर्माण गरेका छन् ।