हेटौंडा/हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४, स्कुलरोडबाट मोबाइल पसल चोरी गर्ने एक जनालाई रंगेहात पक्राउ गरिएको छ ।
मंगलबार मध्यरात ९९ मोबाइल सोलुसनमा मोबाइल चोरी गरिरहेको अवस्थामा १७ वर्षीय एक युवा पक्राउ परेका हुन् । मोबाइल पसल सञ्चालक कृष्णसागर श्रेष्ठले मोबाइल चोरी भइरहेको सीसीटिभी क्यामरा हेरेर थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सटर फोरेर चोरी भएको थाहा पाएपछि श्रेष्ठले सटर लगाएर प्रहरीलाई खबर गरी चोर पक्राउ गरिएको बताएका छन् ।
पक्राउ परेका किशोर बारा जिल्लाको विश्रामपुर गाउँपालिका स्थायी घर भइ हेटौंडामा अध्ययनका लागि बस्दै आएको प्रहरीले जनाएको छ । ती किशोरले १४ वटा मोबाइल, रिचार्ज कार्ड र नगदसहित ६ लाख ७० हजार २ सय २५ रुपियाँबराबरको चोरी गरेको प्रहरीले जनाएको छ । घटनाको आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।