हेटौंडा/बागमती प्रदेशको राजधानी हेटौंडाबासीलाई निकै पिरोलेको फोहोर व्यवस्थापनका सन्दर्भमा उच्च अदालत पाटनको हेटौंडा इजलासले हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलाकिनारस्थित डम्पिङसाइटमा अव्यवस्थितरुपमा ॅफोहोर नफाल्न’ आदेश जारी गरेको छ ।
हेटौंडा उपमहानगरपालिका कार्यालयलाई विपक्षी बनाइ योगेन्द्रप्रसाद उपाध्यायले दिएको रिटउपर न्यायाधीश डा. निर्मला पौडेलभट्टराईको एकल इजलासले उपमहानगरपालिकाका नाममा हाल डम्पिङसाइट बनाइएको स्थानमा फोहोर नफाल्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । आदेशसँगै अदालतले माघ २९ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।
आदेशमा भनिएको छ–वातावरण प्रदुषण जस्तो संवेदनशील विषयमा अन्तरिम आदेशसमेत मााग गरिएकाले विपक्षीबाट हेटौंडा–१० स्थित गोरक्षश्वर मन्दिरभन्दा दक्षिणतर्फ राप्तीतटमा फोहोर नफाल्नू, फोहोर फाल्न नलगाउनू भनी विपक्षीहरुका नाममा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ बमोजिम अल्पकालीन अन्तरिम आदेश जारी गरिएको छ । अन्तरिम आदेशलाई निरन्तरता दिने/नदिने सम्बन्धमा दुवै पक्षको उपस्थितिमा छलफल गराइ निष्कर्षमा पुग्नु उपयुक्त हुने देखिँदा सो प्रयोजनार्थ २९ गते दोहोरो छलफलका लागि पेशी तोकी, प्रस्तुत आदेशको जानकारी विपक्षीहरुलाई दिइ नियमानुसार गर्नू ।
हेटौंडा उपमहानगरपालिकाले गोरक्षश्वर मन्दिरको दक्षिणतर्फ राप्ती खोलाकिनारमा अव्यवस्थित तरिकाले फोहोर फाल्ने गरेको छ । फोहोरको थुप्रो बढेपछि फोहोर उठाउने ठेक्का पाएको ठेकेदारले प्लास्टिकजन्य फोहोरमा आगो लगाउने र उपमहानगरपालिका आफैंले पुर्ने गरेको छ ।
फोहोर व्यवस्थापन गर्ने जिम्मा पाएको कम्पनीले फोहोरको थुप्रोमा पटकपटक आगो लगाउने गरेको स्थानीयको आरोप छ । डम्पिङसाइटमा लागेको आगोबाट निस्केको विषाक्त धुँवाले वातावरण प्रदुषित बनाउने गरेको छ । जथाभावी फालिएको प्लास्टिकजन्य फोहोरको थुप्रोमा आगो लगाइँदा धुँवाको मुस्लोले उपमहानगरपालिका–१, १०, ११ र १२ का बस्ती निकै प्रभावित हुने गरेका छन् । धुँवाको कारण स्कुले बालबालिका, वृद्धलाई सबभन्दा बढी असर पर्दै आएको छ । यसबारे उपमहानगरपालिकालाई बारम्बार जानकारी गराए पनि सुनुवाइ नभएको स्थानीयको गुनासो छ ।
राप्तीतटस्थित फोहर डम्पिङसाइडमा माघ १० गते राति आगजनीका कारण हेटौंडा बजार र आसपासका वस्ती प्रभावित भए । हेटौंडा–१० न्युरेनी, भुटनदेवी, हेटौंडा–१, चाइनाक्वार्टर, हेटांैडा–११, सिमलटार, गोल्फिन्टार, थानाभञ्ज्याङ, नवलपुर र हेटौंडा–९ को धार्मिक क्षेत्र कुष्माण्ड सरोवर, गोरक्षेश्वर धार्मिक क्षेत्र, चौधघरे बस्ती, हेटांैडा–१३, बनस्पतिलगायतमा प्लाष्टिकजन्य फोहर वस्तुको जलनबाट प्रशस्त प्रदुषण फैलियो । स्थानीयको श्वासप्रश्वासमा कठिनाइका कारण विशेषगरि ससाना बालबालिका, दीर्घरोगी, वृद्धको स्वास्थ्यमा प्रत्यक्षरुपमा असर पर्यो । उक्त समय आँखा पिरो हुने, खोकी लाग्ने, स्वासप्रश्वासमा समस्या हुने जस्ता लक्षण देखापरे ।
‘जनताको स्वास्थ्यमा खेलवाड गर्ने छुट कसैलाई पनि छैन र मिल्दैन । यसको जवाफ सम्बन्धित निकाय हेटौंडा उपमहानगरपालिकाले दिनुपर्छ र लिनुपर्छ,’ डम्पिङसाइड दीर्घकालीन समस्या समाधान संघर्ष समिति संयोजक सोमबहादुर लामाले भने–आगजनीको दुई दिन बित्दासमेत फोहोरजन्य प्लाष्टिकको गन्ध आइरह्यो । जलाइएका प्लाष्टिजन्य वायुका कारण क्यान्सरसमेत हुने सम्भावना हुन्छ ।
उनका अनुसार यस्तो आगो लाग्ने र लगाइने समस्या यस वर्षको मात्र होइन । विगत ४/५ वर्षदेखिको समस्या हो । ‘हामीले लिने अक्सिजन (हावा) कहिल्यै स्वच्छ अर्गानिक ठान्दैनौं, खोज्दैनौं । डम्पिङसाइड क्षेत्र पर्यापर्यटन विकासका लागि सम्भावना रहेको क्षेत्रमा जैविक विविधता संरक्षण गर्दै सहरी वनविकास गर्न सकिने तथा पर्यापर्यटकीय क्षेत्रका रुपमा हेटौंडा नगरकै गौरव एवम् आकर्षण बढ्नेछ,’ उनको कथन छ ।
नजिक रहेको राप्तीनदीलाई प्रदुषित बनाइ जलचर र वन्यजन्तु विशेष गरेर चित्तलको बासस्थान र चरिचरन प्रभावित पार्ने र पिउने पानी प्रदुषित पार्ने तथा वातावरणीयरुपमा प्रदुषित हुने गरी डम्पिङसाइड राखिएको हुँदा डम्पिङसाइडको दीर्घकालीन समस्या समाधानका लागि संघर्ष समिति गठन गर्न बाध्य भएको उनको दाबी छ ।
यी विषयवस्तु सम्पूर्ण नगरबासीको एउटै समस्या हुनसक्छ । यसर्थ, डम्पिङसाइडको दीर्घकालीनरुपमा समस्या समाधान गर्न उपमहानगरपालिकाको ध्यानाकर्षण गरिएको छ । समस्याको समाधान ३५ दिनभित्र नगरिए समाधानका निम्ति संघर्ष समितिले उपमहानगरका सबै १९ वडाका फोहोर र फोहोर ल्याउने गाडी छेकथुन गर्न बाध्य हुने चेतावनी नगर प्रमुख मीना लामासमक्ष बुझाइएको पत्रमा उल्लेख छ । उक्त पत्र प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवाल, डिभिजन बन र हेटौंडा–१० वडा कार्यालयलाई पनि दिइएको छ ।