27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासूर्यविनायक–धुलिखेल सडकले यातायातमा सुगमता

सूर्यविनायक–धुलिखेल सडकले यातायातमा सुगमता

हेटौंडा/अरनिको राजमार्गअन्तर्गत् भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक छ लेनमा विस्तारको चर्चा भएअनुसार आयोजना सञ्चालन गरिएको भए तीन वर्षअघि नै सम्पन्न भइसक्नुपर्ने हो ।

यस योजनालाई औपचारिकता दिन विविध कारण तीन वर्ष ढिलाइ भएको छ । मध्यपहाडी क्षेत्रका राजमार्ग हुँदै पूर्वी तराईसम्मका यात्रुबाहक तथा मालबाहक यातायातसाधनको चापले थिलथिलिरहेको अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्डलाई तीन वर्ष ढिला गरेर सुरु गरे पनि मध्यपहाडी क्षेत्रमा भने सुगमता दिलाएको आभास हुन थालेको छ ।

करिब दुई वर्षअघि सुरु गरिएको आयोजना (१६ किलोमिटर) को हाल ३५ प्रतिशत् काम सकिएको जनाइएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाद्वारा निर्माणाधीन सडक विस्तार कार्यले हाल तीव्रता पाएको छ । अन्य राजमार्गबाट सवारीसाधन धुलिखेलबाट अरनिको राजमार्ग हँुदै एकहोरोरुपमा राजधानी जाने गर्दछन् । यसकारण पनि सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारले यातायातको क्षेत्रमा सुगमता थप्ने भएको हो । अरनिको राजमार्गको प्रस्थानविन्दु कोटेश्वरदेखि सूर्यविनायकसम्म भने एक दशकअघि छ लेनमा विस्तार गरिसकिएको हो ।

संघीय राजधानी काठमाडौंबाट बागमती प्रदेशअन्तर्गत् मध्यपहाडीका वीपी र पुष्पलाल राजमार्ग हुँदै पूर्वसम्मको दुरी यही सडकबाट पार गरिन्छ भने यस सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौं आवतजावत गर्दै आएका छन् । दुई लेन रहेको अरनिको राजमार्गको उक्त सडकखण्डलाई छ लेनका लागि विस्तार कार्य भइरहेको छ । सडक दायाँबायाँ दुई सर्भिस लेन तथा दुई दशमलव पाँच मिटरको फुटपाथ निर्माण भइरहेको छ । उक्त खण्ड विस्तारपछि सूर्यविनायकदेखि धुलिखेलसम्मको ट्राफिक व्यवस्थापन सहज हुने तथा पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।

सडक विस्तार कार्य सम्पन्न भएपछि उक्त क्षेत्रबाट संघीय राजधानी काडमाडौं प्रवेशका लागि निकै सुगमता हुने बताइन्छ । ‘अरनिको राजमार्गको सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार गौरवको आयोजना हो । सडक विकासमा एउटा फड्को हो । यो सम्पन्न भएपछि मध्यपहाडी क्षेत्र तथा पूर्वी तराईसम्मका यातायातमा आवतजावतका लागि सुगमता थपिनेछ,’ प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले भने । उनका अनुसार उक्त खण्डको विस्तार कार्य सकिएपछि अरनिको राजमार्ग थप विस्तार कार्यलाई अघि बढाइनेछ ।

बागमती प्रदेशसभा सदस्य कञ्चनचन्द्र बादेश्रेष्ठ सडक विस्तार कार्यले काभ्रेली नागरिकमा खुशीयाली छाएको बताए । उनले भने–केही वर्षदेखि सडकमा सवारी चाप बढिरहेकाले काठमाडौं पुग्ने २५ किमि सडकमा डेढ दुई घण्टा लाग्ने गर्दथ्यो । अब छ लेनको बनेपछि सजिलो गरी आधा घण्टा–पौने घण्टामा पुग्नेछौं । यो निकै खुशीको कुरा हो । उनले सडकमा देखिएका विविध समस्या सुल्झाएर आयोजनाले निर्माण कार्यलाई तीव्रता दिएकोमा छिट्टै सम्पन्न हुने विश्वास गरेको बताए ।

आयोजनाको आग्रहअनुसार दिनका करिब पाँच घण्टा सडक बन्द गरेर निर्माण कार्यलाई थप तीव्रता दिन राजमार्ग क्षेत्रअन्तर्गत् स्थानीय तहका जनप्रतिनिधि छलफलमा जुट्न थालेका छन् । तर, उनीहरुले आयोजनाको प्रस्ताव व्यवहारिक नभएको जनाउँदै आएका छन् । उनीहरुले भक्तपुर–धुलिखेल सडकको साँगामा निर्माण कार्य तीव्रगतिमा गर्नसमेत आयोजनासँग माग गरेका छन् । राजमार्गको सडक दिउँसो अवरुद्ध गर्दा सर्वसाधारणलाई समस्या पर्ने भएकाले विकल्प खोज्नुपर्ने नगर प्रमुखहरुको भनाइ छ ।

धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुले सडक निर्माणको काम नागरिकलाई समस्या नपर्ने गरी गर्नुपर्नेमा जोड दिए । उनी भन्छन्‌–बैकल्पिक सडकको व्यवस्था हुनुपर्‍यो, अनिमात्र आयोजनाको मागतर्फ जान सकिन्छ । भक्तपुरका नगर प्रमुख सुनील प्रजापतिले भने अरनिको राजमार्गको विस्तारका क्रममा दिउँसो यातायात अवरुद्ध गर्नु उचित नहुने बताएका छन् । उनले निर्माण कार्य रात्रिकालीन समयमा गर्नु उपयुक्त हुने जनाउँदै सडक निर्माणका क्रममा बैकल्पिक सडकबारे स्थलगत् अध्ययन गर्नुपर्ने र राजमार्गवरपरका टहरा बिनाक्षतिपूर्ति भत्काउने कार्य गर्नुअघि छलफल गर्नुपर्छ भनेका छन् ।

सूर्यविनायक नगर प्रमुख वासुदेव थापा आयोजनाको कामलाई थप तीव्रता दिनुपर्ने बताउँदै आयोजना राष्ट्रिय गौरवको योजना भएकाले समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिन्छन् । उक्त सडकखण्ड सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी दुई खण्डमा विभाजन गरी सोहीअनुसार ठेक्का सम्झौता भइ विस्तार भइरहेको छ । २०७९ पुस २४ बाट सुरु गरिएको सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको हो ।

आयोजनाका अनुसार भने केही समय थप्नुपर्ने देखिएको छ । मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ । हाल यस सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र कलभर्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको छ भने सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठूलो घुम्ती तथा तल ठूलो भिर भएकाले काम गर्न केही अप्ठ्यारो परेको जनाइएको छ ।

साँगामा समस्या रहेको डेढदेखि दुई किमि सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि सर्भिस लेन भने निर्माण गर्न नसकिने देखिएको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) ले देखाएको छ । उक्त दुरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर योजना अघि बढाइने जनाइएको हो । प्रतिवेदनले सडक विस्तारका लागि आवश्यक १७ रोपनी जग्गाका लागि करिब एक अर्ब मुआब्जा दिनुपर्नेछ ।

सडकमा पुलहरु थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार आयोजनामा २०/२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोलपम्प नजिक निर्माण गरिने भएको हो । यसका लागि प्रतिमिटर १५ लाख लाग्ने अनुमान गरिएको जनाइएको छ । २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो । २०२१ सालमा सरकारले कानुन बनाएर उक्त राजमार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही कानुनका आधारमा सडकका दायाँबायाँ घर बनेका थिए ।

पुरातत्व विभागले हाल स्तरोन्नति भइरहेकोे सूर्यविनायक–धुलिखेल सडकखण्डमा पर्ने पुरातात्विक–ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ । ऐतिहासिक सम्पदा संरक्षणार्थ विभागले स्तरोन्नति भइरहेको सडकखण्डसँग सरोकार राख्ने दुई जिल्ला भक्तपुर र काभ्रेपलाञ्चोकका निकाय, सडक विभाग तथा आयोजनालाई आग्रह गरेको हो । विभागले उक्त क्षेत्रमा सम्पदा प्रभाव मूल्यांकन (एचआईए) भइसकेको जनाउँदै एचआईएको प्रतिवेदनबमोजिममात्र परम्परागत् निर्माण सामग्री प्रयोग गरी मौलिक स्वरुपमा पुनर्निर्माण गर्न पत्राचारमार्फत् आग्रह गरेको छ ।

विभागका संग्रहालय अधिकृत पुरुषोत्तम आचार्यका अनुसार ढुंगेधारालगायत ऐतिहासिक सम्पदा पुनर्निर्माण गर्दा प्राचीन स्मारक ऐन २०१३ बमोजिम गर्न तथा हालसम्म भएगरेका कार्यको प्रगतिसमेत विभागलाई उपलब्ध गराउन भनिएको छ । यसअघि आयोजनाले स्तरोन्नति भइरहेको सूर्यविनायक–धुलिखेल सडकखण्डअन्तर्गत् अरनिको राजमार्गमा आठ दशमलव चार किमि सडकखण्डमा पर्ने ऐतिहासिक आठ संरचना व्यवस्थापनमा कठिनाइ भएको जनाइएको थियो । यस संरचनामा काभ्रेपलाञ्चोकतर्फ साँगा–धुलिखेल सडकखण्डमा पोखरी, मन्दिर, कुवा, नासिका मन्दिर र ढुंगेधारा रहेको आयोजनाको विवरण उल्लेख गरिएको छ । भैंसेपाटीमा दुई कुवा, ढुंगेधारा तथा जनागालस्थित पीपलबोटमा गणेश मन्दिर ऐतिहासिक सम्पदाको सूचीमा परेका हुन् । यीमध्ये गणेश मन्दिर स्थानीयले अन्यत्र स्थानान्तरण गरिसकेका छन् ।

आयोजनालाई अब सात स्थानमा रहेका आठ सम्पदा संरक्षण, व्यवस्थापन एवम् स्थानान्तरण गर्ने गरी बनाइएको बैकल्पिक ढाँचाका विषयमा स्थानीय जनप्रतिनिधि एवम् अगुवासँग छलफल गर्दै निर्माण प्रक्रिया अघि बढ्ने जनाइएको छ । ‘हामी साँगा–धुलिखेल सडकखण्डमा सम्पदा व्यवस्थापन एवम् स्थानान्तरण गर्न स्थानीयस्तरमा छलफल गरिरहेका छौं । आयोजना छलफलकै आधारमा उपयुक्त विकल्पमा जाने पनि तयारी गर्दैछौं,’ आयोजना प्रमुख राजेन्द्रप्रसाद दासले भने ।

आयोजनाले साँगामा रहेको ऐतिहासिक पोखरीलाई नासिका भगवती मन्दिरनजिक वा उपयुक्त स्थानमा स्थानान्तरणको प्रस्ताव गरेको छ भने मन्दिर र कुवालाई पनि सोही मन्दिरआसपास स्थानान्तरण गर्न सकिने जनाएको छ । नासिका मन्दिरको वरिपरिको वाल संरक्षण गरी एकतर्फी सडक निर्माण गर्ने वा नगर्नेबारे अनिर्णित भएको छ । स्थानीयले भने नासिका मन्दिरको ऐतिहासिक महत्व भएकाले सोही स्थानमा संरक्षणका लागि सुझाव दिएको आयोजनाका इञ्जिनियर विष्णुप्रसाद खनालले बताए ।

साँगाको ढुंगेधारा केही पर सारेर पानीट्यांकीसहित निर्माण गर्न आयोजनाले प्रस्ताव गरेको छ भने भैंसेपाटीमा रहेका दुई कुवालाई दाँहिनेतिर इन्टेक निर्माण गरी ट्यांकीसहित ढुंगेधारा निर्माणको प्रस्ताव गरिएको छ । स्थानीयले साँगामा हरेक वर्ष मनाउँदै आएको बिस्केटजात्राका लागि प्रयोग हुने स्थान, पोखरी तथा मन्दिर, धारा र कुवाको विशेष संरक्षणका लागि आयोजनाले सहयोग गर्नुपर्ने बताउँदै आएका हुन् ।

पहिलो चरणमा साँगादेखि धुलिखेल आठ दशमलव चार किमी सडकखण्ड विस्तार कार्यका लागि चार अर्ब पाँच करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण बर्सेनि सवारी चाप बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दुरीको नाका सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप बढेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा लामो दुरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here