हेटौंडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले अर्धवार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले सोमबार पत्रकार भेटघाट कार्यक्रम गर्दै चालु आर्थिक वर्ष साउनदेखि पु्ससम्म अवधिमा सम्पन्न गरेका कामकारबाहीका विषयमा जानकारी गराएको हो ।
यस अवधिमा द्वन्द्वपीडितको नामावली अद्यावधिक गरी १२ जना घाइते तथा अपांगता भएका व्यक्तिलाई ४ लाख ५५ हजार चार सय जीवननिर्वाह भत्ता उपलब्ध गराइएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले जानकारी गराए । गत वर्षबाट जिम्मेवारी सरेर आएका ८७ दशमलव ५७ प्रतिशत् र चालु आर्थिक वर्षका ७५ प्रतिशत् मुद्धा फछ्र्यौट गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ढकालले बताए । चालु आर्थिक वषको हालसम्म राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट ११ हजार राष्ट्रिय परिचयपत्र कार्ड छापिएर आएकोमा ७ हजार ५ सय ९० वटा वितरण गरिएको उनले बताए ।
यस अवधिमा ५ हजार ५ सय ९० जनाले वंशजका आधारमा नागरिकता लिएका छन् । ४ जनाले वैवाहिक अंगीकृत नागरिकता लिएका छन् भने १३ जना गैरआवासीयले नागरिकता पाएका छन् । कार्यालयले ३९ पटक बजार अनुगमन गरेको प्रतिवेदनमा उल्लेख छ ।
असोज ११ र १२ गतेको विपद्प्रभावितलाई हालसम्म ४३ लाख ४० हजार राहत प्रदान गरिनुका साथै संकटग्रस्त क्षेत्र घोषणा भएका इन्द्रसरोवर गाउँपालिकाका लागि ७५ लाख, बकैया र भीमफेदीका लागि ५०/५० लाख राहत तथा पुनर्स्थापनाका लागि पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल पत्रकार महासंघका नवनिर्वाचित समितिलाई प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले सम्मान तथा बधाई ज्ञापन गरे । जिल्लाको शान्तिसुरक्षा तथा अपराध नियन्त्रणमा कार्यालयले एकीकृत सुरक्षा योजना र क्षेत्रगत् विशेष सरक्षा योजना तर्जुमा गरी शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।