हेटौंडा/आन्तरिक राजस्व कार्यालय हेटौंडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/०८२ को छ महिना अवधिमा तीन अर्ब १९ करोड छ लाख राजस्व संकलन गरेको छ । उक्त लक्ष्यको ८० दशमलव २९ प्रतिशत् संकलन भएको हो ।
कार्यालय प्रमुख युक्तप्रसाद सुबेदीका अनुसार चालु आव २०८१/०८२ को छ महिना अवधिमा तीन अर्ब ९७ करोड ३७ लाख ७२ राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा तीन अर्ब १९ करोड छ लाख २२ हजार राजस्व संकलन भएको छ । साउनदेखि पुससम्म अवधिमा अन्तशुल्कतर्फ एक अर्ब ८३ कारेड ९३ लाख १८, आयकरतर्फ ५६ करोड ८१ लाख १५ हजार, मूल्यअभिवृद्धि करतर्फ ४२ करोड ५९ लाख ८३ हजार, स्वास्थ्य जोखिम करतर्फ ३० करोड ३५ लाख ७५ हजार, ब्याजकरतर्फ चार करोड ४३ लाख ८८ हजार र बहालकरतर्फ रु ९२ लाख ४२ हजार राजस्व संकलन भएको प्रमुख सुबेदीले बताए ।
यो अघिल्लो आर्थिक वर्ष २०८०/०८१ को सोही अवधिको तुलनामा २८ करोड भन्दा बढी राजस्व संकलन भएको हो । अघिल्लो आव २०८०/०८१ को सोही अवधिमा चार अर्ब १४ करोड ३० लाख ९५ हजार राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यको ७० दशमलव ७५ प्रतिशत् अर्थात् दुई अर्ब ९३ करोड १३ लाख ६३ हजार राजस्व संकलन भएको थियो ।
प्रमुख सुबेदीका अनुसार चालु आव २०८१/०८२ मा आठ अर्ब ४४ करोड राजस्व संकलन गर्ने वार्षिक लक्ष्य छ । कार्यालयमा आयकरतर्फ ३३ हजार पाँच सय ९६, मूल्यअभिवृद्धितर्फ पाँच हजार आठ सय ४९, अन्तशुल्कतर्फ एक हजार पाँच सय ९८, विथहोल्डतर्फ सात सय ११ र व्यक्तिगत्तर्फका ८१ हजार आठ सय १२ करदाता छन् ।
पछिल्लो समय मुलुकमा आर्थिक कारोबार बढ्नु, बैंक तथा वित्तीय संस्थाबाट ऋणप्रवाहमा सहजता हुनु, कर नीतिमा सुधार हुनु, नियमित बजार अनुगमन, करदाता शिक्षा सञ्चालन तथा बाँकी बक्यौता असुलीमा गरिएको कडाइजस्ता कारण अघिल्लो आर्थिक वर्षको छ महिनाको तुलनामा चालु आवको सोही अवधिमा राजस्व संकलनमा वृद्धि भएको प्रमुख सुबेदीको भनाइ छ ।