हेटौंडा/जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी दुर्घटना न्यूनीकरणका लागि शुभयात्रा अभियान सुरु गरेको
छ । जिल्लामा हुने दुर्घटनामा मोटरसाइकलको संलग्नता बढी हुने गरेकाले मोटरसाइकलचालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्धेश्यले अभियान थालिएको हो ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख केशब अधिकारीका अनुसार अभियानअन्तर्गत् ट्राफिक प्रहरीले मोटरसाइकलचालकलाई शुभकामना दिनुका साथै सुरक्षित यात्राका लागि सचेत गराउँछन् । ‘शुभयात्रामात्र नभनी नमस्कार, आरामै हुनुहुन्छ । पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरुको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्छौं’ भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने गरेका छन् ।
हेलमेट लगाउन, मादकपदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न पनि प्रहरीले चालकलाई सम्झाउने गरेको अधिकारीले बताए । जिल्लामा हुने सवारी दुर्घटनामा मोटरसाइकलको संलग्नता धेरै देखिएपछि अभियान सुरु गरिएको उनले जानकारी दिए ।
सडक सुरक्षामा ट्राफिक प्रहरीले सक्रियता देखाएको छ । पूर्वपश्चिम राजमार्ग र जिल्लाको अन्य भित्री स्थानमा रहेका सडकमा सञ्चालन हुने सवारीसाधनको नियमन गर्न ट्राफिक प्रहरी चौबीसै घण्टा सडकमा आएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालयको सहयोगमा ट्राफिक नियम तथा सवारीसम्बन्धि सचेतनामूलक कार्यक्रमहरु पनि अघि सारेको छ । सवारी दुर्घटना बढेको र त्यसका कारण सर्वसाधारण मानिस अंगभंग भइ कतिपयको ज्यानसमेत गएकाले सवारीसाधन चेकिङमा तीव्रता दिइएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सडकमा दुर्घटना न्यूनीकरण गर्न वैज्ञानिकरुपमा प्रहरी अघि बढेको अधिकारीले बताए । उनले भने–अघि पनि ट्राफिक प्रहरी यसरी नै सडक सुरक्षाका लागि राजमार्गमा आएको थियो । अब भने वैज्ञानिकरुपमा सडकमा हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी सडकमा आउने भएको हो । जिल्लाभित्र र बाहिर जाने यातायातधनी, चालक तथा सहचालकलाई सचेतना, साइकल तथा ट्याक्टरमा परैबाट देखिने गरिको रिफ्लेक्सन स्टिकर टाँस्ने, सवारी दुर्घटना गराउने दोषीलाई कारबाहीका लागि समन्वय गर्ने जस्ता कार्यक्रम लिएर ट्राफिक प्रहरी सडकमा निस्कने ट्राफिक प्रहरीले बताएको छ ।
बाक्लो हुस्सु, मादकपदार्थ सेवन, साँझमा विपरीत दिशाका दुई यातायातचालकबीच बत्तीको समन्वयकारी भूमिका नहुँदा अधिक दुर्घटना बढेको कार्यालयले बताएको छ । पछिल्ला दिनमा तीनपांग्रे सवारीसाधन र राजमार्गमा चल्ने बसको लापरबाहीका कारण पनि राजमार्गमा दुर्घटना बढेको प्रहरीको ठम्याइ छ । ट्राफिक प्रहरीले यातायात मजदुरलाई रुटपरमिट लिएरमात्र सवारीसाधन चलाउन, कागजपत्र दुरुस्त राख्न, निर्धारित भाडादर भन्दा बढी भाडा नलिन, सवारीसाधन चलाउँदा मादकपदार्थ तथा लागुपदार्थ सेवन नगर्न र क्षमता भन्दा बढी यात्रु नबोक्न यातायात मजदुरलाई सुझाव दिँदै आएको छ ।
‘मोटरसाइकल दुर्घटनाको अवस्था भयावह बन्दै गएको छ,’ उनले भने–सवारीचालकलाई सजग गराउँदा दुर्घटना न्यूनीकरण हुन्छ भन्ने सोचेर अभियान चलाएका हौं । अभियानलाई पूर्वपश्चिम राजमार्गमा केन्द्रित गरिएको छ । अभियानअन्तर्गत् ट्राफिक प्रहरीको टोलीले गुडिरहेका मोटरसाइकललाई किनारामा रोकेर चालकलाई सवारी नियम र सुरक्षासम्बन्धि प्रशिक्षण दिने गरेको छ ।
साँघुरो सडक, अधिक सवारी चाप र तीव्रगति नै मोटरसाइकल दुर्घटनाको मुख्य कारक देखिएको छ । कान छोपिने हेलमेट लगाउन, मदिरासेवन गरेर सवारी नचलाउन र तीव्र रफ्तारमा नकुदाउन जिल्लाका ट्राफिक प्रहरीले आग्रह गरेको छ ।
अभियानमा खटिएका प्रहरीले मोटरसाइकलचालकलाई दुर्घटना हुन नदिने उपायका लागि आवश्यक सतर्कताबारे संक्षिप्त प्रशिक्षण दिने गरेका छन् । मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेमा २५ वर्षमुनिका युवाको संख्या उल्लेख्य रहेको प्रहरीको भनाइ छ । लागुपदार्थ र मदिरासेवन गरेर मोटरसाइकल हाँक्ने व्यक्ति दुर्घटनाको उच्च जोखिममा पर्छन् ।