हेटौंडा/राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हालको अवस्थामा राप्रपाबाहेक अरुले मुक्ति दिन नसक्ने बताएका छन् ।
नयाँ भनिएका दलहरु पनि अरुलाई देखाएर आफूहरु पनि भ्रष्टाचार गर्न पाउनुपर्छ भन्ने विन्दुमा पुगेको बताउँदै उनले अबको एकमात्र बिकल्प राप्रपामात्र रहेको बताए । राप्रपा मकवानपुरले हेटौंडामा गरेको अगुवा कार्यकर्ता भेलामा अध्यक्ष लिङ्देनले नयाँ भनिएका दलका नेता/कार्यकर्ताहरु अरु दलका नेताले त्यति धेरै खाए हामीले यति खाँदा पनि थुनिनुपर्ने भन्ने विन्दुमा पुग्नु लज्जास्पद् विषय भएको बताए ।
कार्यक्रममा अध्यक्ष लिङ्देनले कांग्रेस–एमालेको गठबन्धन सरकार भ्रष्टाचारको आरोपबाट मुक्त हुनका लागि निर्माण भएको प्रमाणित भएको बताए । यस सरकार निर्माण भएको छ महिना अवधिले कांग्रेस–एमाले किन मिलेको भन्ने प्रमाणित भएको बताए ।
हाल देशको राष्ट्रिता कमजोर भएको बताउँदै देश भुराजनीतिक चक्रब्युहमा परेको बताएका उनले देशमा विदेशी चलखेल बढेको बताउँदै यस्तोे अवस्थाको निर्माण तीन दलले गरेको दाबी गरे । देश हाल निकै अप्ठेरो अवस्थामा रहेको बताउँदै अध्यक्ष लिङ्देनले देशमा चरम निराशा बढेको, युवाले देश छाड्ने दर ह्वात्तै बढेको बताए ।
अध्यक्ष लिङ्देनले राप्रपाको कोहीसँग एकीकरणको सम्भावना नरहेको बताए । राप्रपाबाट विभाजन गरेर निर्माण भएको राप्रपा नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राप्रपाका अध्यक्ष लिङ्देनले चाहे एक हप्तामा दुवै राप्रपा एकीकरण हुने अभिव्यक्ति दिएकोमा अध्यक्ष लिङ्देनले थापाको प्रस्ताव खारेज गरेका हुन् । थापाकै गृहनगर हेटौंडा आएर लिङ्देनले हालको अवस्थामा राप्रपा कुनै दलसँग एकीकरण गर्ने अवस्थामा नरहेको स्पष्ट पारेका हुन् । एकीकरणभन्दा राप्रपासँग विचार मिल्नेहरुलाई पार्टीमा स्थान दिने नीति रहेको उनले बताए ।
उनले भने–तपाईंहरु ढुक्क हुनुस्, अब राप्रपा टुट्ने, फुट्ने, एकीकरण हुने कुनै पक्षमा छैन । हाल सिंगो एकीकृत राप्रपा छ । अब कोहीसँग एकीकरण हुने भन्ने बजार हल्लाको पछाडि राप्रपा लाग्दैन । पहिले राप्रपामा कोही सूर्यबहादुर पक्ष, कोही लोकेन्द्रबहादुर चन्द पक्ष हुने गरेको भन्दै अध्यक्ष लिङ्देनले भने–त्यसपछि कोही जबरा पक्ष, कोही थापा पक्ष भए । तर, हाल राप्रपामा सबै राप्रपा पक्षमात्र छन् ।
उनले भने–अब हामी दिनरात नभनी संगठन निर्माणमा लाग्नुको कुनै विकल्प छैन । हाम्रो दिमागमा अगाडिपछाडि, दिनरात संगठन विस्तारको अभियान हुनुपर्दछ । बलियो संगठन नभइ राप्रपाले आफ्नो उद्धेश्य पूरा गर्न नसक्ने बताउँदै उनले बजारमा छरिएको भ्रमको पछि नलाग्दै बलियो राप्रपा निर्माण अभियानमा जोडिन अनुरोध गरे ।