हेटौंडा/हेटौंडा–५ लाई शनिबार ‘बालमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको छ । निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त वडा घोषणापत्रमा हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले हस्ताक्षर गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरेकी हुन् ।
वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै मेयर लामाले उपमहानगरले घोषणालाई अभियानका रुपमा लिएको बताइन् । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दैमा बालश्रम र बालविवाह अन्त्य नहुने र केही हदसम्म न्यूनीकरण हुँदै जाने उनको विश्वास छ ।
बालबचाऊ, बालसंरक्षण, बालविकास र बाल सहभागिता गरेर ५१ वटा सूचक पूरा भएसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको मेयर लामाले जानकारी दिइन् । ४७ वटा सूचकमा शत्प्रतिशत् र ४ वटा सूचकमा घोषणाका लागि आवश्यक न्यूनतम् प्रतिशत् नतिजा हासिल गर्दै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
वडामा २ हजार १६ बालक र १ हजार ७ सय ८२ बालिका गरी ३ हजार ७ सय ९८ बालबालिका छन् । वडामा २०७९ सालको घरधुरी सर्वेक्षणअनुसार २ हजार ८ सय ७५ घरधुरी छन् । १४ हजार १ सय २७ जनसंख्या रहेको वडामा ७ हजार ९८ महिला र ७ हजार २९ पुरुष रहेको वडा अध्यक्ष सुशील घिमिरेले बताए ।
बालविकास केन्द्रसहित सामुदायिक र संस्थागत् गरी ९ विद्यालय वडामा सञ्चालनमा रहेको घिमिरेले जानकारी दिए । वडाको प्रतिवेदन प्रस्तुत गर्दै वडा अध्यक्ष घिमिरेले २०७९ मंसिर १५ गते सरोकारवालाको उपस्थितिमा अभिमुखीकरण तथा प्रतिवद्धता जाहेर गर्दै बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणाका रुपमा अभियान अघि बढेको जानकारी दिए ।
बालमैत्री स्थानीय शासन दीगोपनाका लागि वडाको अन्तिम प्रतिवेदन, स्थितिपत्र २०८१ र पञ्चवर्षीय रणनीतिक योजना तयार भइसकेको बताएका उनले पूर्णखोप वडा घोषणा, पूर्वसाक्षर वडा घोषणा, खुला दिशामुक्त वडा घोषणा भइसकेको बताए । बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र कार्यान्वयन कार्यविधि, २०७९ को मार्गदर्शनअनुसार २०७९ भदौ २४ गते बसेको उपमहानगर कार्यपालिका बैठकले वडा र पालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने निर्णय गरेको थियो ।
कार्यक्रममा हेटौंडा उपमहानगर उपमेयर राजेश बानियाँ, हेटौंडा उपमहानगर प्रवक्ता सबिन न्यौपाने, जनप्रतिनिधि, प्याब्सन बागमती प्रदेश अध्यक्ष केशबलाल श्रेष्ठ, शिक्षक, विद्यार्थीलगायत विभिन्न संघसंस्थाको सहभागिता थियो ।