हेटौंडा/मकवानपुर ग्यास व्यवसायी संघ अध्यक्षमा नवीन लामा चयन भएका छन् । शनिबार भएको संघको विशेष अधिवेशनबाट अध्यक्षमा लामालाई सर्वसम्मत् चयन गरिएको हो ।
मकवानपुर ग्यास व्यवसायी संघ अध्यक्ष केशब मुडभरीको सवारी दुर्घटनामा मृत्युपश्चात् संघका कार्यबाहक अध्यक्षको जिम्मेवारी लामाले सम्हालेका थिए । संघ उपाध्यक्षमा मदन दाहाल र सचिवमा सुदर्शन पौडेल चयन भएका छन् । सभामा प्रमुख अतिथि मकवानपुर उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोदसिंह रानाभाटले २५ मिटर सडक विस्तारमा मकवानपुर उद्योग वाणिज्य संघ विरोधी नभएको बताए । संघको बाह्रौं वार्षिक साधारणसभा तथा विशेष अधिवेशनमा रानाभाटले सडक विस्तारलाई अन्यौलतामा राख्न नहुने बताए ।
‘मकवानपुर उद्योग वाणिज्य संघले सडक विस्तार रोक्यो भन्ने आरोप छ । त्यसलाई म खण्डन गर्न चाहन्छु,’ अध्यक्ष रानाभाटले भने–मकवानपुर उद्योग वाणिज्य संघ सडक विस्तारको विरोधी होइन । यहाँको विकास हेर्न चाहन्छौं । हेटौंडाबासी भएका कारण मकवानपुर उद्योग वाणिज्य संघ सडक विस्तारको कार्य रोक्नुपर्छ भन्ने पक्षमा नरहेको उनले जिकिर गरे ।
‘सडक विस्तार गर्ने हो भने सरकारले लगतकट्टा गरी दिनुपर्यो, होइन भने न्यायालयले निर्णय गरिसकेको छ । अन्यौलता नगरी कार्यान्वयन पक्षमा जानुपर्दछ,’ उनले भने–मकवानपुर उद्योग वाणिज्य संघ कहिले पनि भत्काउन हुन्न भन्ने पक्षमा लबिङ गर्दैन र भत्काउनुपर्छ । यदि मुआब्जा दिनुछैन भने कारण खुलाइदिनुपर्यो, दिनु छ भने यथाशीघ्र दिएर निकास अगाडि बढ्नुपर्यो । चुनावी प्रतिस्पर्धामा प्यानल बनाएर होमिए पनि उपभोक्ता र व्यवसायीको हकहितको लागि एक ढिक्का भएर अगाडि बढ्ने उनको भनाइ थियो ।
संघ कार्यबाहक अध्यक्ष लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघमा निर्वाचित पदाधिकारीहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा ग्यास बिक्रेता महासंघ वरिष्ठ उपाध्यक्ष विष्णु खनाल, ग्यास व्यवसायी संघ बागमती प्रदेश अध्यक्ष बिनोदमान श्रेष्ठ, ग्यास व्यवसायी संघ मकवानपुर निवर्तमान अध्यक्ष दिलिशगोविन्द जोशीलगायतको आतिथ्यता थियो ।