हेटौंडा/हेटौंडामा दोस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुने भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० कार्यालयको आयोजनामा दोस्रो घरेलु उत्पादन प्रवद्र्धन प्रदर्शनी तथा नृत्य प्रतियोगिता एवम् शैक्षिक मेला हुन लागेको हो ।
वडाको आयोजना हुने कार्यक्रममा विभिन्न राजनीतिक दल, टोलविकास संस्था नगर समन्वय समिति, टोलविकास वडा समन्वय समिति, हेटौंडा ढाका उद्यमी समूह हेटौंडा–१०, जाल्पादेवी महिला उद्यमी केन्द्र, स्थानीय क्लब, आमा समूह, विद्यालयलगायत नगरका १९ वटै वडाको समन्वयमा कार्यक्रम गर्न लागिएको वडा अध्यक्ष फुर्वा लामाले बताए ।
बसपार्कपरिसरमा आयोजना गरिने कार्यक्रममा प्रदर्शनी मेला तथा नृत्य प्रतियोगितामा हेटांैडा उपमहानगरपालिकाका १९ वटै वडाहरुबाट सहभागी हुनसक्ने वातावरण मिलाइएको लामाले बताए । समुदायहरुसँगको सहकार्य र सरोकारवालाहरुको समन्वयमा कार्यक्रम आयोजना गर्न लागिएका बताउँदै उनले भने–१० नम्बर वडालगायत १९ वटै वडाबाट लिएको तालिम तथा सिपलाई सदुपयोग गर्दै साना उद्योग तथा लघु उद्यमीहरुलाई स्थानीय उत्पादित वस्तुहरुलाई प्रवद्र्धन गर्ने, उत्पादित वस्तुहरुको बजारीकरण गर्ने र स्वरोजगार सिर्जनामा सहयोग पुर्याउने उद्धेश्यले प्रदर्शनी आयोजना गर्न लागिएको हो ।
अघिल्लो वर्ष पनि वडाले पहिलो पटक यही कार्यक्रम आयोजना गरेको थियो । वडामा रहेका सामुदायिक तथा संस्थागत् विद्यालयहरुलाई प्रवद्र्धन गर्नका साथै उक्त अवसरमा स्थानीय जातजातिका भेषभुषा झल्कने र आआफ्नो सँस्कृति संरक्षणमा सहयोग पुर्याउन स्थानीय पर्यटन र खाना महोत्सव तथा कला सँस्कृति पहिचान झल्कने गरी नृत्य प्रतियोगिता आयोजना गरिने बताइएको छ ।
उक्त प्रदर्शनीमा हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडाहरुमा किसान तथा व्यवसायीहरुले उत्पादन तथा निर्माण गरेका सेवा तथा वस्तुहरुको प्रदर्शनी तथा बिक्रीवितरण गरिने बताइएको छ भने नृत्य प्रतियोगितामा पनि १९ वटा वडाहरुका इच्छुक कलाकारहरु सहभागी हुनसक्ने बताइएको छ । दुई दिनसम्म आयोजना हुने मेलामा घरेलु उत्पादनका लागि कम्तिमा १ सय भन्दा बढी स्टलहरु राखिने वडा अध्यक्ष लामाले बताए ।
प्रदर्शनीमा सहभागीहरुलाई प्रशंसापत्रको व्यवस्था गरिने उनले बताए । नृत्य प्रतियोगितामा प्रथम हुने समूहलाई ५० हजार, द्वितीयलाई ३५ हजार, तृतीय हुने समूहलाई २० र सान्त्वना हुने चार समूहलाई प्रतिसमूह ५ हजार रुपियाँका दरले पुरस्कार व्यवस्था गरिएको छ ।
कार्यक्रम व्यवस्थापन तथा सञ्चालनका लागि मूल आयोजक समितिमा ५७ सदस्यीय तयारी मूल समिति गठन गरिएको छ भने विभिन्न ६ वटा उपसमिति निर्माण गरी प्रदर्शनी मेला तथा साँस्कृतिक कार्यक्रमलाई व्यवस्थित बनाउने प्रयास गरिएको वडा कार्यालयले जनाएको छ ।
कार्यक्रमको लागत १० लाख अनुमान गरिएको छ । कार्यक्रम अवधिभर करिब २५ हजार मानिसहरुले अवलोकन गर्ने आँकलन गरिएको छ । कार्यक्रममा स्टल निःशुल्क व्यवस्थापन गरिएको वडा अध्यक्ष लामाले बताए । स्टलमा घरेलु उद्यमका सामग्रीहरु रहनेछ भने जातीय पहिचान झल्कने खानाका समेत स्टल राखिने अध्यक्ष लामाले बताए ।