हेटौंडा/हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसले आयोजना गरेको ‘म्यानेजमेन्ट फेष्ट’ मा वनविज्ञान क्याम्पस प्रथम भएको छ । आइतबार र सोमबार आयोजित फेष्टमा कृषि तथा वनविज्ञान विश्वविद्यालय, वनविज्ञान संकाय, हेटौंडा फरेष्ट्री क्याम्पसअन्तर्गत् एफओएफको टिम प्रथम भएको हो । वनविज्ञान संकायका प्रतीक्षा पौडेल, करुणा दाहाल, कुसुम खड्का र दिपेश श्रेष्ठको सहभागिता थियो ।
पिप्लेस्थित हेटौंडा सिटी कलेजको टिम मारियो द्वितीय हुँदा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेसअन्तर्गत् ‘द इम्पेरियल टायकुन्स’ टिम तेस्रो तृतीय स्थानमा पर्न सफल भएको छ । म्यानेजमेन्ट फेष्ट प्रतियोगितामा हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसल साइन्सेस, हेटौंडा सिटी कलेज, हेटौंडा क्याम्पस, हेटौंडा फरेष्ट्री क्याम्पस (कृषि तथा वनविज्ञान विश्वविद्यालय) र शहीद आकाश मेमोरियल कलेज गरी ६ टिमको सहभागिता थियो । प्रतियोगितामा प्रथम हुने वनविज्ञान क्याम्पसको टिमले १५ हजार रुपियाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ भने द्वितीय र तृतीय हुने टिमले पनि मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।
बादविवाद प्रतिस्पर्धामा ८ जना विद्यार्थीले भाग लिएका थिए भने गेमिङ टुर्नामेन्ट (पबजी) मा ४ खेलाडी भएका ७ टिमहरु सहभागी थिए । ट्याग द ब्राण्ड मा ११ टिमहरु प्रतिस्पर्धा गरेका थिए भने आईटी क्विजमा ६ जना सहभागी थिए । फेष्टको खाद्यान्न स्टलले ‘रिप्रिजेन्ट योर कल्चर’ भन्ने विषयमा ९ स्टल प्रस्तुत गरे, जसमा ७ स्टल ब्याचलरका विद्यार्थीहरुले तयार गरेका थिए भने २ स्टल होटल म्यानेजमेन्टका विद्यार्थीले प्रस्तुत गरेका थिए ।
कलेजमा कक्षा–११ देखि स्नातक तहका होटल म्यानेजमेन्ट अध्ययनरत् विद्यार्थीलाई फेष्टमा सहभागी गराइएको छ । फेष्टमा मम, छोइला, ससेज, चटपटे, पानीपुरी, चिया, कफीलगायत विभिन्न खाद्यान्न परिकारका करिब १० वटा स्टल रहे । एउटा स्टलबाट विद्यार्थीले १२ देखि १६ हजार रुपियाँसम्म आम्दानी गर्न सफल भएको विद्यार्थीले बताएका छन् । ‘आफ्नो सँस्कृतिको प्रतिनिधित्व गर्नुहोस्’ भन्ने मुख्य नारा सार्थक बनाएर साँस्कृतिक विषयवस्तुका खाद्य स्टलको व्यवस्था गरिएको बताइएको छ ।
कलेजका सहायक प्रिन्सिपल तुलाराम थापाको सभाध्यक्षमा भएको कार्यक्रममा कृषि तथा वनविज्ञान विश्वविद्यालयका सहायक डीन सञ्जय उपाध्याय, हेटौंडा क्याम्पसका सहायक क्याम्पस प्रमुख लीलाप्रसाद ढुंगेल, हेटौंडा सिटी कलेजका प्राचार्य श्रीबहादुर कार्कीलगायतको आतिथ्यता थियो ।