हेटौंडा/ऐनकानुनमा चरा संरक्षणका निम्ति जुनसुकै कुरा लेखिएको भए पनि मकवानपुरको उत्तरी क्षेत्रमा केही वर्षअघिसम्म एउटा यस्तो परम्परा थियो, जुन दिन रैथाने चरा स्थानीयको निसानामा पर्थे ।
हरेक माघे संक्रान्तिलाई चरा लखेट्ने पर्वका रुपमा मनाइन्थ्यो । स्थानीय भेला भइ रैथाने चरालाई खेदीखेदी मार्थे । विगत एक दशकदेखि यस्तो चलन हराएको छ । स्थानीय सरकारी वनलाई समुदायको जिम्मा लगाएर संरक्षण र व्यवस्थापन गर्न थालेपछि चोरी, शिकारी नियन्त्रणसँगै चरा मार्ने परम्परा पनि हराएको हो ।
माघे संक्रान्तिका दिन भ्याकुर र संग्रेला जातका चरा लखेटेर मार्थ्यौं, स्थानीय दुर्गाबहादुर कार्कीले भने–हाल उक्त चलन हराएको छ । भ्याकुरसँगै सयौंको संख्यामा बथान भएर नजिकबाट उड्ने र खनीखोस्री चर्न मन पराउने संग्रेला जातको चरा बढी मारिन्थ्यो । संक्रान्तिका दिन संग्रेला लखेट्न गाउँघरका सबैलाई उर्दी जारी गरिन्थ्यो ।
मकवानपुरको थाहा नगरपालिका–३, घर्तीखोलाका देवबहादुर कार्की विगत स्मरण गर्दै भन्छन्–जंगलबाट खेदेर बेंसीसम्म आइपुग्दा आत्तिएर बेहोसजस्तै भएका चरालाई कसैले त्यत्तिकै समात्थे, कसैले लाठीले हिर्काउथे । चरा मारेर चाड मनाउने चलन भएकाले गाउँघरमा हाल पनि माघे संक्रान्तिमा खाइने मासुलाई शिकार भन्ने चलन छ । हाल गुलेली बोकेर हिँड्ने शिकारी पाइँदैन । हाल चरा मार्नुभन्दा पनि संरक्षण गर्नुपर्नेमा सबैले जोड दिँदै आएका छन् ।
माघे संक्रान्तिलाई थारु जातिले मात्र होइन, मकवानपुरका माझी समुदायले पनि भिन्न तरिकारले मनाउने गरेका छन् । माघे संक्रान्तिको अघिल्लो मसान्तको दिन आफ्नो घर, बस्तीनजिक खोलामा दुवाली छेकेर ढडिया र घिङ्ग्री रातभर थापेर त्यस्मा परेको माछा खाएर संक्रान्ति मनाउने गर्छन् ।
मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–६, जुइनाका माझी समुदायले मसान्तका दिन स्थानीय खोलामा दुवाली छेकेर माछा मार्ने काम गरेका छन् । दुवाली छेकपछि ढडिया र घिङ्ग्री रातभर थाप्ने गरिन्छ । माझी समुदायका युवा ढडिया र घिङ्ग्री थापेको नजिक आगो बालेर रातभर जाग्राम बस्ने गर्छन् ।
ढडिया र घिङ्ग्रीमा परेको माछामा सामूहिकरुपमा भाग लगाएर घरमा लगेर पकाएर खाने गर्छन् । उसिनेको तरुल, सखरखण्ड, घिउ र चाकुसहित खाने गर्छन् । माघे संक्रान्ति मनाउन छोरीज्वाई आफन्तहरु आउने गर्छन् । जुइनाका कृष्ण माझीले भने–छिमेकी र आफन्तका गएर खानपिन गरिन्छ, माझी समुदायले खोलामा दुवाली छेक्ने बेला अन्य जातिका मानिस आएर हेर्ने गर्छन् । माघे संक्रान्तिका दिन दुवाली छेकेर माछा मारेर खाने यो हाम्रो ऐतिहासिक परम्परा हो । मकवानपुरमा रहेका प्रत्येक माझी बस्तीमा मसान्तको दिन दुवाली छेकेर माछा मार्ने गरिन्छ ।