हेटौंडा/माघ १ गते माघ महिनाको पहिलो दिन हो । यस दिनलाई माघे संक्रान्ति पनि भनिन्छ । नेपालमा मनाइने प्रमुख संक्रान्तिमध्ये यस माघे संक्रान्ति पनि एक प्रमुख हो ।
यस दिन नेपालमा माघ संक्रान्ति पर्व मनाइने गरिन्छ । मुख्यगरि यस चाड मगर जातिको एक प्रमुख चाडका रुपमा लिइए पनि सबै नेपालीबासीले मनाउने गर्दछन् । यस दिनमा पुसको पाक्य–माघको खाक्य भनेर पुस मसान्तको रातमा विभिन्न परिकार पकाएर माघको दिन खाने चलन छ ।
विशेषतः यस दिन कन्दमुल खाने चलन छ । माघ १ को अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सरकारले २०६३ सालमा माघीलाई लक्षित गरेर १ माघमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । माघीमा ढिकरी (चामलको पिठोबाट बनेको विशेष परिकार), चिचर, सक्खरखण्ड, घुँघीलगायत परिकार खाएर मनाउने गरिन्छ । आफूहरुले माघीलाई सामाजिक सद्भाव र स्वतन्त्रका लागि मनाउने गरिएको उनीहरु बताउँछन् ।
२०६५ सालमा सरकारले माघ १ लाई मगरको राष्ट्रिय पर्व घोषणा गर्यो । मगर अध्येता एमएस थापामगर आफ्नो समुदायले पनि माघ १ लाई नयाँ वर्षको सुरुवातका रुपमा मनाउने गरेको बताउँछन् । पूर्वमन्त्रीसमेत रहेका थापा जाडो सकिएर गर्मी सुरु हुने दिनका रुपमा तरुल खाने गरिएको बताउँछन् । यस दिन नदीमा तोरण तार्ने, चेलीेबेटीलाई पुज्ने, तरुल खाने, बटुक खाने चलन रहेको थापाले जानकारी दिए ।
तराई मधेशमा माघ १ मा तिलापर्व पर्छ । प्राध्यापक सुरेन्द्र लाभ चन्द्रमाको स्थिति परिवर्तन भएको र जाडो सकिएको दिनका रुपमा तिलासम्वत् मनाउने गरिएको बताउँछन् । तिलासम्वत्मा मिथिला र भोजपुरामा तिलको मिठाइ र खिचडी खाने चलन छ । माघ १ बाट दिन लामो हुने भएकाले तिलको मिठाइ खाने गरिएको लाभ बताउँछन् । हरेक दिन एक तिल जति दिन लामो हुने विश्वासले तिलको मिठाइ खाने गरिएको विश्वास छ, प्राध्यापक लाभले भने ।
लिम्बु राई, सुनुवार, सुरेल, याक्खा, धिमाललगायत किराँत समुदायले माघ १ लाई येले सम्वत्का रुपमा मनाउने गर्छन् । प्राज्ञ अमर तुम्ह्याङका अनुसार यस सम्वत्को नामाकरण यलम्बर राजाको स्मरणमा गरिएको हो । किराँतीहरुमा कक्फेक्वा (सेतो चाँप) फुलेपछि नयाँ वर्ष शुरुवात हुन्छ भन्ने मान्यता छ । कक्फेक्वा फुल्ने दिन कोदोको रोटी, कन्दमुल खाएर नयाँ वर्षको शुरुवात गर्ने गरिएको प्राज्ञ तुम्ह्याङ बताउँछन् ।
छन्त्याल समुदायले माघ १ लाई छार म्हेङ (म्हिलाङे सोङ्ती) पर्वका रुपमा लिन्छन् । उनीहरुका लागि पनि छारम्हेङ नयाँ वर्ष हो । नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्यालका छार म्हेङका दिन खानीमा विशेष पूजा गरिन्थ्यो । खानी नभत्कियोस्, चोटपटक नलागोस् भनेर पूजा गर्ने गरिएको हो । पितृपूजा, चेलीबेटीलाई खुवाउने, तरुल, पिँडालु खाने गर्छन् । माघ १ का दिन सूर्य मकर राशिमा प्रवेश गर्ने र उत्तरायण सुरु हुने हिन्दु पञ्चांगको मान्यता छ । हिन्दु धर्ममा यस दिनलाई विभिन्न धार्मिक अनुष्ठान आरम्भ हुने दिनका रुपमा लिइन्छ ।