हेटौंडा/सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा लाग्ने अफ्रिकन स्वाइन फिभरका कारण कैलालीको घोडाघोडीमा ३८ वटा बंगुर मरेका छन् । घोडाघोडी–९ का किसान प्रदेशु चौधरीले पालेका बंगुर मरेका हुन् ।
घोडाघोडी नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बंगुर मर्न थालेपछि गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको जानकारी दिए । उनका अनुसार पुस १८ गते पशुपन्क्षी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको हो ।
केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर काठमाण्डौंले पनि पीसीआर परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको आचार्यले जानकारी दिएका छन् । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् । २०७९ कात्तिकमा सुदूरपश्चिममा पहिलोपटक कैलालीको भजनीका किसान जय बुढाको बंगुर फार्ममा उक्त रोग देखापरेको थियो । त्यसबेला बुढाले पालेका चार सय ८२ वटा बंगुर मरेका थिए ।
यस वर्ष पनि अफ्रिकन स्वाइन फिभर सुदूरपश्चिम, गण्डकी र बागमतीमा देखिएको पशुसेवा विभागले जनाएको छ । उक्त रोग पशुबाट मानिसमा नसर्ने तर सुँगुर, बंगुुर तथा बँदेल प्रजातिमा छिटो फैलिने सरुवा रोग हो । यसअघि २०७९ सालमा देशका २८ जिल्लामा रोग फैलिएको थियो ।
संक्रमित सुँगुर, बंगुर तथा बँदेल प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यान जाने अवस्था आउने गरेको पशु स्वास्थ्य प्राविधिक आचार्यले बताए ।
रोगी सुँगुर, बुंगुरलाई बथानबाट छुट्टै राख्न र उपचार गर्न, फार्ममा जैविक सुरक्षाका विधि अपनाउन, खोर तथा फार्ममा सरसफाइ गरी चुना तथा अन्य निसंक्रमणका औषधि प्रयोग गर्न, ओसारपसारमा सावधानी अपनाउन किसानलाई आग्रह गरिएको पशुसेवा विभागले जनाएको छ ।