हेटौंडा/मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचन शनिबार सम्पन्न भएको छ । यसपालि निर्वाचनका क्रममा ब्यानरलगायत प्रचार सामग्री अधिक प्रयोग भएका छन्, जसले गर्दा सुन्दर नगर हेटौंडा व्यवसायी उम्मेद्वारहरुको फोटो भएका ठूला फ्लेक्सलगायत निर्वाचनस्थल हेटौंडा–२ स्थित पल्पसारोडमा सामग्रीहरुले भरिभराउ छन् । ती प्रचार सामग्री तत्काल स्वयम् हटाएर नगरको सौन्दर्य कायम राख्न टोलविकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाले आग्रह गरेको छ ।
‘आफूले प्रचार गर्न प्रयोग गरेका सामग्रीहरु हटाएर हेटौंडाको सौन्दर्यमा कमी आउन नदिने काममा स्वयम् उम्मेद्वार लाग्नुभयो भने यसले उदाहरण प्रस्तुत गर्न मद्धत गर्दछ,’ समिति अध्यक्ष ध्रुव अधिकारीले सार्वजनिकरुपमा गरेको आग्रहमा भनिएको छ–तसर्थ, उम्मेद्वारहरुले व्यक्तिगत्रुपमा राखेका फ्लेक्सलगायत प्रचार सामग्री तत्काल हटाउनुभइ नगरको सौन्दर्य अभिवृद्धिमा सघाउन टोलविकास नगर समन्वय समिति हार्दिक आग्रह गर्दछ ।
ठूला र आकर्षक बोर्ड राखी मतदातालाई आकर्षित गर्ने होडबाजी उद्योग वाणिज्य संघको निर्वाचनमा देखियो । यसअघि पनि हेटौंडामा यस्ता दृष्य नदेखिएका हैनन् । काम सकिएपछि लामो समय त्यत्तिकै राखिँदा च्यातिएका, खुइलिएका र प्रयोगमा नआएका फ्लेक्सले हेटौंडाबासीलाई गिज्याइरहने गर्दछ ।
हाल हेटौंडाभर असरल्ल अवस्थामा परिचयपाटी राख्नेजस्ता कार्य हुँदै आएको छ । व्यावसायिकरुपमा वा प्रचारका लागि वाह्य विज्ञापन हाल प्रचारको मुख्य साधन हो । हेटौंडाका साना वा ठूला सहर, राजमार्ग, बजार क्षेत्रमा यसको व्यापक प्रयोग भएको पाइन्छ । बोर्डमा प्रयोग हुने भाषा, बोर्डका आकार, प्रकार र डिजाइन आफूखुशी राख्न दिँदा हेटौंडाको स्थानीय सौन्दर्यमा व्यापक असर परेको छ ।
प्रचारका नाममा सवारीसाधनको व्यापक ओहोरदोहोर हुने स्थानमासमेत फ्लेक्स बोर्ड राख्दा पनि स्थानीय तहले केही नगरेको अवस्था छ । मानिसको जमघट हुने तथा सवारीसाधन नचल्ने स्थानमा मात्र राख्नुपर्ने फ्लेक्सलाई सवारीसाधनको आवतजावत हुने मुख्य चोकमा राख्न अनुमति दिइएको छ । आधुनिक सहर बनाउने नाममा भएका यस्ता कार्यबाट निम्तिन सक्ने सवारी दुर्घटनातर्फ ध्यान दिएको देखिँदैन । सवारीचालकले बोर्डमा लेखिएको सन्देश हेर्न खोज्दा निम्तिनसक्ने दुर्घटनालाई ध्यान दिन नसकेका उदाहरण हाम्रासामु छन् । सहर, गाउँ वा राजमार्गमा रहने र सौन्दर्यसँग जोडिने भएकैले अमेरिकामा सन् १९६५ मै राजमार्ग सौन्दर्यसम्बन्धि ऐन बनाइएको भए पनि नेपालले यसक्षेत्रमा काम गर्न सकेको थिएन ।