19 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडावीरगञ्ज–हेटौंडा–काठमाडौं पोडवे

वीरगञ्ज–हेटौंडा–काठमाडौं पोडवे

हेटौंडा/वीरगञ्ज–हेटौंडा हुँदै काठमाडौंसम्मको यात्रा ४५ मिनेटको हुने गरी आधुनिक रेल प्रविधि पोडवे बनाउने विषयमा सार्वजनिक सहमति जुट्ने देखिएको छ । सार्वजनिक यातायातका रुपमा अघि बढाइएको पोडवे प्रविधि नेपालमा भित्र्याउनको लागि हेटौंडाका अमित अग्रवालको निर्णायक भूमिका छ ।

अमितले मुलुकै आर्थिक राजधानीका रुपमा चिनिएको वीरगञ्जबाट हेटौंडा हुँदै काठमाडौंसम्म मानिस र सामान दुवैका लागि पोडवे सञ्चालन गर्नुपर्ने सपना बुनेका थिए । यो उनको मेगा प्रोजेक्ट हो । यसका लागि झण्डै ८५ अर्ब बजेट लाग्ने बुझिएको छ । १ सय किलोमिटर पोडवे निर्माणमा करिब ४० अर्ब बराबर खर्च लाग्नेछ । पोडवे सञ्चालनका लागि डीपीआर तयारी चरणमा पुगेको बताइन्छ ।

अमितका बुबा कृष्णकुमार गुप्ता मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । हाल संघको जिल्ला अधिवेशन चलिरहेको छ । उनी नेतृत्व हस्तान्तरणको मुखमा छन् । हेटौंडामा यतिबेला पोडवेको विषय चर्चामा छ । सबै लब्ध–प्रतिष्ठित र ख्याति कमाएका उद्योगपतिहरुले साथ दिएका छन् । उक्त परियोजना अघि बढाइए सामान ढुवानी तथा मानिसको आवातजावतका लागि पनि फलदायी हुने उनले बताएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामादेखि संघीय अर्थमन्त्री विष्णुप्रसाद पौडेलसम्म उक्त प्रोजेक्ट अघि बढाउन तयार छन् ।

पोडवे तार केवलमा आधारित प्रविधि मानिन्छ । यो रेलको पछिल्लो र अत्याधुनिक संरचनाका रुपमा लिइन्छ । सार्वजनिक यातायातका क्षेत्रमा विकास गरिएको नयाँ प्रविधिका रुपमा यसलाई लिइएको छ । हाल दुबई र बेलारुसले उक्त प्रविधिमा आधारित पोडवे सञ्चालन गरेका छन् । अमेरिका र भारतमा पनि सञ्चालनको क्रममा छ ।

स्वदेशी बिजुली प्रयोग गरेर सञ्चालन गर्न सकिने भएकाले पेट्रोलियम पदार्थको आयातमा वार्षिकरुपमा खर्च हुने ठूलो विदेशी मुद्रा देशभित्र राख्न सकिन्छ । प्रचण्ड नेतृत्वको सरकारले २०८० मंसिर ७ गते नेपाल राजपत्रमा सूचना प्रकाशन गरी पोडवे, स्काई रेल, स्काई ट्रलिबस, जलमार्गलगायत वैकल्पिक यातायातसम्बन्धि नीति, कानुन, मापदण्ड कार्यान्वयन गर्ने उल्लेख गरिसकेको छ । वैकल्पिक यातायातको गतिलो माध्यम पोडवेलाई सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा समेटेको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय योजना आयोग, सहरी विकास मन्त्रीलगायत पदाधिकारीसँग पोडवे सञ्चालनबारे छलफल गरेका थिए ।

छलफलमा पेडवे प्रविधि अध्ययन र निर्माणका लागि सरकारले आवश्यक नीतिगत् व्यवस्था गर्ने सहमति भएको थियो । पोडवे सञ्चालनका लागि आवश्यक नीतिगत् व्यवस्था गरी आगामी वर्षदेखि नै पोडवेको अध्ययन तथा निर्माणका लागि सरकारले सहजीकरण गर्ने विषयमा पनि छलफल भएको काठमाडौं पोडवे कम्पनी उपाध्यक्ष नील भट्टराईले बताए ।

नीति तथा कार्यक्रम समेट्ने र आगामी वर्षदेखि काठमाडौं उपत्यका वा कुनै एक ठाउँमा पोडवे सञ्चालन कार्य अघि बढाउने सन्दर्भमा छलफल भएको उनले बताए । पोड वे प्रविधि अघि बढाउनका लागि प्रचण्ड सकारात्मक देखिएका थिए । काठमाडौं पोडवे कम्पनीले काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकालाई जोड्ने गरी १ सय किलोमिटरमा पोडवे सञ्चालनका लागि अध्ययन गरिसकेको छ । काठमाडौं चक्रपथ, कौशलटार–नैकाप, बुढानीलकण्ठ–कीर्तिपुर, तारकेश्वर–टोखा हुँदै चक्रपथ, रत्नपार्क–बानेश्वर हुँदै चक्रपथ, गोकर्णेश्वर–बौद्ध–आरुबारी–दक्षिणढोकाक्षेत्रसम्म उक्त प्रविधि विस्तार गर्न सकिने अध्ययनले देखाएको हो ।

काठमाडौं उपत्यकाबाहिर कर्णाली प्रदेशअन्तर्गत् सुर्खेत–हुम्ला (लिमी) सम्म २ सय ३१ किलोमिटर क्षेत्रमा पनि पोडवे सञ्चालन गर्न सकिने गरी पूर्वसम्भाव्यता अध्ययन कार्य गरिसकिएको भट्टराईले बताए । कर्णाली प्रदेश सरकारलाई उक्त अध्ययन रिपोर्ट बुझाइसकिएको उनले बताए । कोशी प्रदेशअन्तर्गत् जोगवनी–धरान–उत्तराखण्ड हुँदै पूर्व जोड्ने गरी ८३ किलोमिटरमा उक्त प्रविधि विस्तार गर्न सकिने गरी अध्ययन भइसकेको छ भने लुम्बिनी क्षेत्रमा करिब ६ किलोमिटरमा पोडवे प्रविधि विस्तार गर्न अध्ययन भइसकेको र अध्ययन प्रतिवेदन प्रदेश सरकारलाई बुझाइसकिएको कम्पनीले जनाएको छ ।
के हो पोडवे ?

उच्च प्रविधियुक्त सार्वजनिक यातायातको माध्यम पोडवे हो । यो सडकमाथि स्ट्रिङ (तार) मा विभिन्न डिजाइनका पोड (डब्बा) राखेर गुडाइन्छ । यसलाई पर्सनल र्‍यापिड ट्राञ्जिट (पीआरटी) भनेर पनि चिन्ने गरिन्छ । यो सार्वजनिक यातायातको त्यस्तो सानो प्रणाली हो, जहाँ निश्चित नेटवर्कभित्र स्वचालित सवारीसाधन सञ्चालन हुने गर्छन् । उच्च प्रविधि भएको माइक्रो रेल नै पोडवे हो । यसमा मान्छे राख्ने ठाउँलाई पोड भनिन्छ । पोडको साइज हेरि न्यूनतम् ६ जना र त्यसभन्दा बढी यात्रुले सहज यात्रा गर्न सक्छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here