हेटौंडा/मकवानपुरमा छैठौं संस्करणको बकैया कप फुटबल प्रतियोगिता सुरु भएको छ । बकैया गाउँपालिका वडा नम्बर–३ स्थित बकैया रंगशालामा सुरु प्रतियोगिता उद्घाटन बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गरेका हुन् ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले प्रदेश सरकारले समग्र खेलकुद क्षेत्रको विकासका लागि पहल गरिरहेकोे बताए । उनले आफू खेलकुद क्षेत्रकै मानिस भएको भन्दै खेलाडीको मर्म र भावना बुझेको र सोहीअनुसार काम गर्ने प्रयास भइरहेको उल्लेख गरे । आफू मन्त्री नियुक्त हुँदा बजेट बनिसकेको र त्यो अत्यन्त न्यून भएका कारण खेलक्षेत्रको विकासका लागि सोचेअनुरुप काम गर्न कठिनाइ भएको उनको भनाइ छ । उनले आगामी वर्ष खेलक्षेत्रको विकास र खेलाडीहरुको हितलाई ध्यानमा राखेर बजेट बृद्धि गरिने बताए ।
मन्त्री महर्जनले खेलक्षेत्रको विकास र खेलाडीको हितलाई ध्यानमा राखेर आफ्नो कार्यकालमा कार्यविधि बनाएर अन्तर्राष्ट्रिय पदक पाउने खेलाडीलाई नगदसहित सम्मान गर्ने कार्य सुरु गरिएको र स्वयम्सेवक प्रशिक्षक नियुक्ति प्रक्रियासमेत अगाडि बढाइएको उल्लेख गरे ।
यस संस्करणको प्रतियोगितामा सिनियर टिम तथा जुनियर टिमको फरक प्रतिस्पर्धा हुने बकैया खेलकुद विकास समिति संयोजक विजय लामाथिङले जानकारी दिए । यस वर्ष जुनियर टिमबाट विजेता हुने टिम आगामी वर्ष सिनियर टिममा बढुवा हुनेछ भने सिनियर टिमको अन्तिम टिम घटुवा हुने संयोजक लामाले बताए ।
प्रतियोगिता माघ १ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिता नकआउट चरणमा खेलाइनेछ । प्रतियोगितामा सिनियरतर्फ विजेता टिमले १ लाखसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले ५० हजार रुपियाँ प्राप्त गर्नेछन् । जुनियरतर्फ विजेताले ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपियाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।