हेटौंडा/बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा प्रदेशको राजधानी हेटौंडामा आयोजना भएको बालश्रम अन्त्यका लागि निजी क्षेत्रको भूमिकाका विषयमा भएको छलफलमा बालश्रम अन्त्यका लागि निजी क्षेत्र सदैंव सकारात्मक रहेको बताइएको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले निजी क्षेत्रबाट प्राप्त सुझाव महत्वपूर्णरुपमा लिने र निजी क्षेत्रसँग विषयगत्रुपमा छलफल गर्दै सहकार्य गरेर अघि बढ्ने बताए । कार्यक्रममा निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका कार्यकारी निर्देशक विवेक मानन्धरले बालश्रम अन्त्यका लागि नेपाल उद्योग वाणिज्य महासंघ शुरुदेखि नै सक्रियरुपमा लागिरहेको बताए ।
औपचारिक क्षेत्रमा बालश्रम अन्त्यका लागि नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको र आफ्ना जिल्ला/नगर उद्योग वाणिज्य संघहरुमार्पmत् बालश्रम अन्त्यका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको उनले बताए । केन्द्र, प्रदेश र सबै जिल्ला/नगर उद्योग वाणिज्य संघहरुको लेटरप्याडमा ‘स्टप चाइल्ड लेबर’ को लोगो रहेको बताउँदै उनले अनौपचारिक क्षेत्रमा देखिएको बालश्रम अन्त्यका लागि पनि नेपाल उद्योग वाणिज्य महासंघ सदैंव प्रतिबद्ध रहेको र सबै किसिमका सहकार्यका लागि तयार रहेको बताए ।
कार्यक्रममा मन्त्रालयका सचिव बलराम निरौलाले बागमती प्रदेश सरकारले बालश्रम अन्त्यका लागि गरेका क्रियाकलापबारे प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य विन्दु श्रेष्ठ, श्रम, रोजगार तथा यातायात मन्त्रालयका विज्ञ सल्लाहकार तुलसी रिजाल, बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. दीपेन्द्र श्रेष्ठ, स्वतन्त्रता अभियान कार्यालय प्रमुख रितु भट्टराई, राष्ट्रिय बालसंरक्षण सञ्जाल, सिविन, दीगो विकास लक्ष्य ८.७ का लागि नागरिक मञ्च, विभिन्न ट्रेड युनियनका प्रतिनिधिलगायतको उपस्थिति थियो ।