हेटौंडा/दोस्रो बागमती प्रदेश लिग फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसीले जितेको छ । शनिबार भएको फाइनलमा दोलखालाई पराजित गर्दै काठमाडौं प्रतियोगिताको च्याम्पियन बनेको हो ।
हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा सम्पन्न फाइनलमा काठमाडौंको पशुपति शिवाजी चित्लाङ एफसीले दोलखाको टाइगर टिम, तिखाताललाई ३–० ले हराउँदै उपाधिमाथि कब्जा जमाउन सफल भएको हो । काठमाडौंको जितमा सुजित बुढाथोकीले दुई गोल गरे भने थप एक गोल आयुष कुँवरले गरे । काठमाडौंका दुई गोलकर्ता सुजित बुढाथोकी फाइनल खेलको म्यान अफ दी म्याच चुनिए । विजेता बनेको काठमाडौंले उपाधिसहित नगद २ लाख हात पार्यो भने उपविजेता दोलखाले नगद १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
विधागत्तर्फ प्रतियोगिताका उत्कृष्ट गोलरक्षक काठमाडौंका चन्द्रशेखर श्रेष्ठ चुनिए । उत्कृष्ट डिफेन्डर पनि काठमाडौंकै जनक कोइराला बन्दा उत्कृष्ट मिडफिल्डर काठमाडौंका विज्ञान खड्का बने । उत्कृष्ट फरवार्ड दोलखाका सुजन माझी चुनिँदा उत्कृष्ट प्रशिक्षक काठमाडौंका रुपेश क्षेत्री बने । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको पुरस्कार भने काठमाडौंका सुजित बुढाथोकीले हात पारे । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्वाङलगायतले पुरस्कृत गरेका थिए ।